काठमाडौँ, १५ भदौ। नेपाल भ्रमण वर्षको मिति नजिकिँदै गर्दा विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धवासी भने खुसी हुन सकेका छैनन्। चार महिनापछि नेपाल भ्रमण वर्ष सुरू हुने गरी तयारी भइरहे पनि सडकको दूरावस्थाले गर्दा यहाँका स्थानीयमा खुसीको सट्टा चिन्ता थपिँदै गएको छ।
चावहिलबाट बौद्ध हुँदै जाने मूल एवं भित्री सडकको दूरावस्थाका कारण पर्यटकमार्फत नकारात्मक सन्देश जाने डरले स्थानीय चिन्तित बनेका हुन्। टुसाल चोकबाट हायात होटलको पूर्वी पर्खाल हुँदै भित्री मार्गबाट बौद्ध स्तूप निस्कने सडकसमेत जीर्ण छ।
सडकको बीचमा परेको खाल्डाखुल्डीले पानी जम्दा सवारी र पैदल यात्रासमेत दुःखदायी हुने गरेको छ। हायात होटल अघिको भित्री सडकमा पसल सञ्चालन गर्दै आएका किशोर श्रेष्ठ पानी परेको बेला महाङ्कालदेखिको बाढी यही बाटोबाट टुसाल चोकमा आउने गरेको तीतो अनुभव सुनाउँछन्। ‘सडक जीर्ण बन्दा दायाँबायाँ बस्न सकिँदैन,’ गुनासोको पोको फुकाउँदै उनले सुनाए, ‘घाम लाग्दा धूलो र पानी पर्दा हिलो त यहाँको विशेषता नै भइसक्यो।’
हायात होटलको पौडी पोखरीबाट निस्कने पानीसमेत टुसाल चोकमै दह बन्ने गरेको छ। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सांसदको समूहले दुई साताअघि यो सडकको स्थलगत अनुगमन गर्दा यो तथ्य सार्वजनिक भएको थियो।

महाङ्कालबाट कुमारीगालतिर लगिएको खानेपानीको पाइप हायात होटलभित्रबाट लगिएको छ। हाल त्यो पाइप फुटेर पर्खालबाट बाहिर पानी पोखिएको छ। यसले पनि सडकलाई असर पारेको छ। काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्र लामा संघीय सरकारको बजेटमा सडक विस्तार एवं कालोपत्र भइरहेकामा समयमै काम नहुँदा पर्यटकीयस्थलका बारेमा गलत प्रचार हुने खतरा बढेको बताउँछन्।
स्थानीय सरकारका नाताले काठमाडौँ उपत्यका सडक विस्तार आयोजना, निर्माण व्यवसायीलगायत सरोकार भएका निकायलाई छिटो काम गर्न अनुरोध गर्दा पनि सुनुवाई हुन नसकेको उनको भनाइ छ। – रासस