नारायणगढ । पाँच दलीय गठबन्धनको आडमा पनि सम्मानजनक जीत हासिल गर्न नसकेपछि नेपाली कांग्रेसभित्र गहिरो समीक्षा हुन थालेको छ। देशभरको अवस्था हेर्ने हो भने कांग्रेसकै कारण कांग्रेसले सोचेजस्तो सिट जित्न नसकेको स्वमय् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका हुन्। ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा चितवनले लज्जास्पद हार व्यहोर्नुको पछाडि कांग्रेसको केन्द्रीय समिति नै जिम्मेवार बन्नुपर्छ,’ बिहीबार नारायणगढमा कार्यकर्ता भेटघाटसँगै भएको समीक्षात्मक कार्यक्रममा उनले भने।
पार्टीको केन्द्रीय समितिले सही तरिकाबाट टिकट वितरण नगर्दा चितवनको नतिजा करिब शून्यको अवस्थामा पुगेको उनले बताए। पार्टीको केन्द्रीय समितिले चितवन जिल्लामाथि सधैँ थिचोमिचो गरिरहँदा कांग्रेसले आफ्नो क्षेत्र नै गुमाउँदै गएको नेता पौडेलको भनाइ छ। ‘त्यसैले पार्टीभित्र आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ । अब कांग्रेस सम्हालिन आवश्यक छ,’ उनले भने, ‘नसम्हालिए त्यसको असर पार्टीलाई नै पर्ने हो।’
कांग्रेसभित्र आफूले गल्ती गर्ने चलन भए पनि त्यसको आत्माआलोचना गर्ने चलन नहुँदा आज यो अवस्थामा आइपुगेको उनले बताए। चितवनमा गठबन्धनका आधारमा कांग्रेसले पाएको दुई वटा प्रतिनिधिसभा सदस्य र प्रदेशको दुई सदस्य पद गुमेको छ। क्षेत्र नं.२ को प्रदेशसभा २ मा मात्रै कांग्रेसले आफ्नो उमेदवारलाई जिताउन सफल भएको थियो।
सरकार बन्ने विषयमा भने निर्वाचनको मतपरिणाम आइसकेपछि मात्रै थाह हुने उनले बताए। ‘बन्न चाहिँ गठबन्धनकै सरकार बन्छ,’ उनले भने, ‘तर, यस्तै बन्छ भनेर भन्न सकिने अवस्था भने अझै पनि भइसकेको छैन।’


























