असोज १४ । चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ।
टियु क्रिकेट मैदानमा बिहीबार काठमाडौं किङ्स-११ लाई ३ विकेटले हराउँदै चितवनले दोस्रो जित निकालेको हो। काठमाडौंले दिएको १ सय ४२ रनको लक्ष्य चितवनले १८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो।
चितवनको जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक २६ रन बनाए। कमल सिंह ऐरी २३ रनमा अविजित रहे।
यस्तै दिलिप नाथले २३ रन जोड्दा करिम जनतले २१ रन बनाए। मोहमद साहजदले २१, भिम सार्कीले ६, सेकुगे प्रसन्नले ५ तथा इशान पाण्डेले ४ रन बनाए। कप्तान सोमपाल कामी सुन्य रनमा आउट भए।
काठमाडौंका जितेन्द्र मुखिया र रायन बर्लले २/२ विकेट लिए। जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाले १/१ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो। काठमाडौंका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाए। राजु रिजालले २८ रन जोड्दा जनक प्रकाशले २६ रन जोडे।
रहमानउल्लाह गुर्बाजले ५, अमित श्रेष्ठले ६, अमर रौटेला ५, गुलशन झाले ४ रन जोड्दा रायन बुर्ल सुन्य रनमा आउट भए। सिद्दान्त लोहनी ८ तथा कप्तान सन्दीप लामिछाने ७ रनमा अविजित रहे।
चितवनका सागर ढकालले ४ विकेट लिए। करिम जनतले दुई विकेट लिए। कमल ऐरी र सेकुगे प्रसन्नले एक एक विकेट लिए। काठमाडौंलाई हराएसँगै चितवन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। चितवनले २ खेलमा ४ अंक जोडेको छ। पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई हराएको थियो।
पहिलो हार व्यहोरेको काठमाडौंले २ खेलमा २ अंक जोडेको छ। काठमाडौं चौंथो स्थानमा रहेको छ। काठमाडौंले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो।


























