असोज ६ । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयलले पन्जाब किङ्सविरुद्ध रोमान्चक जित निकालेको छ।
दुबईमा मंगलबार राति भएको रोमान्चक खेलमा राजस्थानले पन्जाबलाई २ रनले हराएको हो। राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो।
अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक थियो। तर, राजस्थानका बलर कार्तिक त्यागीले अन्तिम ओभरमा १ रन खर्चिएर २ विकेट लिएपछि पन्जाब जितबाट बन्चित भयो।
पन्जाबका लागि मायांक अग्रवालले ६७ रनको अर्धशतकीय इनिङ्स खेले। केएल राहुलले ४९ रन बनाए। यस्तै निकोलस पुरणले ३२ रन जोड्दा एडिन मार्क्रमले अविजित २६ रन बनाए। राजस्थानका कार्तिकले २ तथा चेतन साकरिया र राहुल टेवाटियाले एक एक विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो। राजस्थानका याशभी जैसवालले ४९ जोड्दा महिपाल लोम्रोरले ४३ रन बनाए।
यस्तै इभिन लेविसले ३६ रन जोड्दा लियाम लिभिङस्टोनले २५ रन जोडे। पन्जाबका अर्शदिप सिंह एक्लैले ५ विकेट लिए। मोहमद शामीले ३ विकेट लिए।
यस जितसँगै राजस्थानले ८ खेलमा ८ अंक जोडेको छ। राजस्थान पाँचौं स्थानमा रहेको छ। सातौं स्थानको पन्जाबले ९ खेलमा ६ अंक जोडेको छ।


























