बागलुङ, चैत्र १२ । कोरोना भाइरस संक्रमितको उपचार गर्नुपर्ने डरले बन्द गरिएको बागलुङका दुई निजी अस्पताल विरोध र दबावपछि खुलेका छन्।
चौतर्फी विरोध भएपछि कोरोना भाइरस संक्रमणले समस्या बढाएकै बेला बन्द भएको बाग्लुङ बजारस्थित निजी क्षेत्रबाट सञ्चालित मुक्तिनाथ हस्पिटल तथा रिसर्च सेन्टर मङ्गलबार रातिदेखि खुलेका हुन्। मङ्गलबार दिउँसो अस्पतालको ढोकामा सूचना टाँस गरेर केही दिनका लागि अस्पताल बन्द गरिएको जानकारी गराएको थियो ।
कोभिड –१९ परीक्षणलगायत सामग्री नभएकाले अस्पताल बन्द गरिएको उक्त सूचनामा उल्लेख थियो भने अस्पतालका अध्यक्ष सन्तोष रावलले सुरक्षा सामग्री नभएको र अस्पतालका कर्मचारीले काम गर्न नमानेकाले बन्द गर्न बाध्य भएको बताएका थिए।
उनले सरकारी अस्पतालमा सामग्री र बीमाको कार्यक्रम हुने तर निजीमा नहुने भएकाले चिकित्सक तथा कर्मचारीले काम गर्न नमानेको बताएका थिए। अस्पताल बन्द भएको समाचार सार्वजानिक भएपछि सङ्कटको बेला अस्पताल बन्द गरेकामा चौतर्फी विरोध भएको थियो।
सर्वसाधारणले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए भने बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बन्द गर्ने कार्य गैरजिम्मेवार भन्दै तत्काल कारवाही गरिने चेतावनी दिएपछि अस्पताल सञ्चालनमा आएको हो।
नगर प्रमुख पौडेलको चेतावनी र सामाजिक सञ्जालमा सर्वसाधारणको ब्यापक विरोध भएपछि मङ्गलबार रातिदेखि अस्पताल खुलेको सूचना व्यवस्थापनले आफ्नै सूचनापाटीमा टाँस गरेको छ।
भएन नमूना सङ्कलन
स्वास्थ्यकर्मी तथा बिरामीले प्रयोग गर्नुपर्ने सुरक्षा कवच (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) को अभाव हुँदा जिल्लामा कोरोना भाइरसका शङ्कास्पद बिरामीको परीक्षणका लागि लिइने नमूना सङ्कलन प्रभावित भएको छ।
सुरक्षा कवचको अभावका कारण यही चैत ५ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी बागलुङ नगरपालिका–४ का एक महिलाको नमूना सङ्कलन गर्न नसकिएको धौलागिरी अञ्चल अस्पतालले जनाएको छ। काठमाडौंमा कोरोना सङ्क्रमणको पुष्टि भएकी युवतीसँगै कतार एयरवेजबाट आएकी बागलुङकी महिलाको नमूना सङ्कलनमा समस्या आएको हो।
घरमा नै बसेकी उनलाई केही दिनदेखि ज्वरो आउने, रुघा लाग्नेलगायत लक्षण देखापरेपछि उनको परिवार मङ्गलबार अञ्चल अस्पतालको सम्पर्कमा आएको थियो।
बिरामीको परिवारले अस्पतालमा सम्पर्क गरेर उनी बिरामी रहेको जानकारी गराए पनि सुरक्ष कवचका अभावमा कोरोना परीक्षणका लागि नमूना सङ्कलन गर्न कठिन भएको अस्पतालका डा. पूजन बल्लले जानकारी दिए। सुरक्षा कवच नभएकै कारण अस्पतालको आइसोलेशन कक्षसम्म उनलाई ल्याउन नसकिएको हो।
सुरक्षा कवच नलगाई बिरामीलाई आईसोलेशन वार्डसम्म ल्याउन नमिल्ने र स्वास्थ्यकर्मी समेत बिरामीको नजीक जान नमिल्ने भएकाले समस्या भएको डा.बल्लले बताए। अस्पतालमा रहेका दुई थान सुरक्षा कवच सोमबार नै अस्पतालमा आएका बाग्लुङ नगरपालिकाकै अर्का बिरामीको स्वाब सङ्कलनमा प्रयोग भएको थियो।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बी पोखरेलले मङ्गलबार अपराह्न गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग पहल गरेर पाँच थान सुरक्षा कवच प्राप्त गरेका छन्।
पोखराबाट बाग्लुङ आउन समय लाग्ने भएकाले आज बिहानसम्म ती महिलाको घाँटीको स्वाब लिन सकिने अस्पतालले जनाएको छ। डा. बल्लका अनुसार ती महिलालाई आज बिहान मात्रै आइसोलेशन वार्डमा लिन सकिने छ।
मङ्गलबार भने ती बिरामी महिला घरमा नै क्वारेन्टाइनमा छिन्। जिल्लामा शङ्कास्पद बिरामी देखिन थालेपछि ३० थान सुरक्षा कवच तत्काल खरीद गर्ने तयारीमा रहेको अस्पतालले जनाएको छ।