साउन २२ । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाडेका छन्। बार्सिलोनाले बिहीबार अर्जेन्टिनाका मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको छ।
बार्सिलोनाले ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा मेस्सीसँग सम्झौता नवीकरण गर्न नसकिएको जनाएको छ। यस अघि मेस्सीले बार्सिलोनासँग पाँच वर्षको नयाँ सम्झौता गर्ने बताईएको थियो।
तर, बार्सिलोनाले एक विज्ञप्ति निकाल्दै मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको छ। क्याटलन क्लबको एकेडेमीमा हुर्किएका मेस्सी अब फ्री ट्रान्सफरमा अन्य क्लब जानेछन्। ६ पटकको बालोन डीुओर विजेता मेस्सी गत जुन ३० बाटै फ्री एजेन्ट बनेका थिए। ३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए।
बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन्। मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन्।
यस्तै उनले ७ पटक कोपा डेल रे उपाधि हात पारे। मेस्सीले आफ्नो कप्तानीमा गत महिना अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए। एजेन्सी


























