काठमाडौं, साउन २० । संघीय संसद अन्तर्गतको राष्ट्रियसभा बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन तथा विधेयक पेश हुने सम्भावित कार्यसूची छ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ वार्षिक प्रतिवेदन, २०७६/०७७ पेश गर्नेछन्।
यस्तै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७’ सभामा पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आजै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट विधायन ब्यवस्थापन समितिका २ वटा प्रतिवेदनसहित विधेयक पेश गरी पारित गरिनेछ।
विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको ‘तथ्याङ्क विधेयक, २०७६ माथि छलफल गरी पारित गरिनेछ। यस्तै ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि छलफल पारित गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।


























