चितवन मंसिर २८ । वर्तमान सरकार विरुद्ध नेपाली कांग्रेस चितवनले भोलि भरतपुरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। आइतबार पार्टी कार्यालय नारायणगढमा पत्रकार सम्मेलन गरेर सोमबार विरोध प्रदर्शन गर्ने बताएको हो। वर्तमान सरकार आन्तरिक किचलोको दलदलमा फसेर जनपक्षीय काम गर्न नसकेको भन्दै कांग्रेसको केन्द्रीय समितिको निर्णयअनुसार चितवनमा प्रदर्शन गर्न लागेको नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बताए।
‘भ्रष्टाचारीहरुको मुख पनि हेर्दिनँ’ भनेको केपी ओली सरकार नै भ्रष्टहरुको रक्षाकवच बनेको उनको आरोप छ। वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको धरपकड पनि प्रधानमन्त्री ओलीकै ठाडो आदेशमा भएको दाबी गरेको छ। वर्तमान सरकारको अधिनायकवादी चिन्तन र व्यवहारका कारण लामो समयसम्मको संघर्षपछि प्राप्त उपलब्धीसमेत गुम्ने खतरामा रहेकोले केन्द्रीय समितिले नै देशभरका सबै जिल्लामा एकसाथ प्रदर्शन गर्न लागेको सभापति श्रेष्ठले बताए। भोलि हुने विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्न पूर्व अर्थमन्त्री एवम् पार्टीका पूर्व सह- महामन्त्री डा.रामशरण महत चितवन आउने कार्यक्रम रहेको कांग्रेस चितवनले जनाएको छ।


























