काठमाडौं, साउन १८ । नेकपा माओवादी केन्द्रले आज पार्टीका तर्फबाट मन्त्री हुनेको नाम टुंग्याउने तयारी गरेको छ। यसका लागि आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक डाकिएको छ। समावेशी आधारमा भूगोलसमेत मिलाएर भरसक नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी गरेको नेता गणेश साहले जानकारी दिए।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीका तर्फबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल मात्र सहभागी छन्। माओवादीले पाउने भनिएको ७ मन्त्रालयमध्ये बाँकी पाँच मन्त्रालय टुंगिन बाँकी छ।
एमालेको माधव कुमार नेपाल समूहको अलमलले मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको नेताहरुले बताउँदै आएका छन्। पार्टी एकताकै लागि प्रयास भइरहेकाले नेपाल समूह सरकारमा जान अनिच्छुक देखिएको छ। तर गठबन्धनका नेताहरुले संसद जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाल समूहलाई सरकारमा आउन दबाब दिइरहेका छन्।


























