काठमाडौं, साउन १७ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक १० दिन पछि सरेको छ। आइतबार बसेको स्थायी समिति बैठकले साउन २० गते तय भएको केन्द्रीय कमिटी बैठकलाई साउन ३० गतेका लागि सारेको छ।
पछिल्लो घटनाक्रम र आवश्यक तयारीलाई केही समय लिनु उपयुक्त देखिएकाले बैठक १० दिन सारिएको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
ुपार्टीका सबै कमिटीहरुलाई यही साउन ३० गतेभित्र देशभरीका वडा कमिटीहरु गठन गर्न निर्देशन दिएका छौं। त्यसको अध्यावधिक विवरण केन्द्रीय कमिटी बैठकमा आउँदा केन्द्रीय कमिटीका सदस्यहरुले सम्बन्धित प्रदेशबाट लिएर आउन निर्देशन दिएको छु, प्रवक्ता श्रेष्ठले भने।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा ब्रिफिङ गरेका थिए। सरकार गठनका बारेमा अहिलेसम्म विकसित घटनाक्रमबारे प्रचण्डले बैठकलाई जानकारी गराएका थिए।
‘बैठकले गठबन्धनलाई सदृढ बनाउने, यो सरकार प्रतिनिधि सभाको पूरा कार्यकाल चलाउनका निम्ति अगाडि बढ्ने, जनतालाई प्रतिगमन विरोधी संघर्षका क्रममा व्यक्त गरेका प्रतिवद्धतताहरु अनुसार सरकारका काम जनमुखि ढंगले प्रभावकारी बनाउने भन्ने कुरामा जोड दिएका छौ’, श्रेष्ठले भने, ‘सरकारको पूर्णता दिने विषयलाई छलफल गर्न भोलि पुनः ३ बजे स्थायी समितिको बैठक बस्ने निर्णय भएको छ।’


























