काठमाडौं, साउन १६ । नेकपा एमालेका नेता सुवास नेम्वाङले अव एमालेमा कुनै पक्ष नरहेको घोषणा गरेका छन्। एमालेको विघटित एकता कार्यदलका नेताबीचको आजको छलफलपछि नेम्वाङले अब एमालेमा कुनै पक्ष र समूह नरहेको बताएका हुन्।
‘हामीले निकै गम्भीर ढंगबाट छलफल गरेका छौं, अब एमालेमा कुनै पक्ष रहेन,’ बिघटित कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट नेतृत्वकर्ता संसदीय दलका उपनेता नेम्वाङले बैठकपछि बाहिरिने क्रममा भने।
यद्यपी आजको कार्यदलका सदस्यहरुको बैठक कुनै ठोस निश्कर्षबिना नै सकिएको छ। झण्डै साढे दुई घण्टाको छलफलपछि निस्केका कार्यदल सदस्यहरुले ठोस निष्कर्ष दिएका छैनन्।
एमाले सचिव गोकर्ण विष्टले पनि आफूहरु कुनै पनि हिसाबले पार्टी एकतालाई जोगाउनुपर्छ भन्ने लक्ष्य राखेर छलफलमा जुटेको जानकारी दिए। उनले भने, ‘पार्टीलाई कसरी एकतावद्ध बनाएर लैजान सकिन्छ भन्ने विषयमा हामीले छलफल गर्यौँ।’
उनले छलफलमा ‘१० बुँदे सहमति र दुईटा अध्यक्षको प्रसँगलाई मुख्य आधार बनाएर छलफल गरिएको जानकारी दिए।


























