काठमाडौं, बैशाख ३० । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ। बालुवाटारमा सुरु भएको बैठकमा माधव कुमार नेपाल पक्षले अघि सारेका माग सम्बोधनबारे छलफल गरिने एक नेताले जानकारी दिए। नेपाल पक्षले सांसदबाट आजै सामूहिक राजीनामा दिने तयारी गरेको छ।
संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसिमा आज सकिँदैछ। यही सन्दर्भमा नेपाल पक्षलाई राजीनामा दिनबाट रोक्नको लागि एमालेले बैठक बोलाएको हो। यसअघि नेपालसँग अर्थमन्त्रीसमेत रहेका नेता विष्णु पौडेलले उनकै निवास पुगेर भेटेका थिए।
बैशाख २७ गतेको संसद बैठक बहिष्कार गरेको नेपाल पक्षलाई कारबाही गर्ने कि नगर्ने भन्नेबारे ओली खेमामा पनि दुई मत छ। कतिपयले कारबाही गर्नुपर्ने सुझाव दिएका छन् भने कतिपयले उनीहरुलाई सांसदबाट पदमुक्त गर्दा पार्टीलाई नै घाटा लाग्ने सुझाव दिएका छन्। स्थायी कमिटी बैठकले नेता नेपाल पक्षको माग सम्बोधन गर्ने सम्पूर्ण जिम्मा अध्यक्ष ओलीलाई दिने बुझिएको छ। लगत्तै, ओलीले नेता नेपालसँग वान टु वान वार्ता गर्ने तयारी गरेका छन्।


























