साउन १४ । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो ओलम्पिक’ जापानमा जारी छ।
राजधानी टोकियोमा जारि ओलम्पिक अन्तर्गत बुधबारसम्म कुल ९५ स्वर्ण पदकको छिनोफानो भएको छ। जसमा रसियन ओलम्पिक टिमसहित कुल ३५ राष्ट्रले स्वर्ण पदक जितेका छन्।
ओलम्पिकको छैटौं दिन सकिदा पदक तालिकामा आयोजक जापानले अग्रता कायमै राखेको छ। अमेरिका र चीनलाई पछि पार्दै जापान पदक तालिकाको शीर्ष स्थानमा रहेको हो। जापानले १३ स्वर्ण पदकसहित कुल २२ पदक जितेको छ। चीन १२ स्वर्णसहित कुल २७ पदक जित्दै दोस्रो स्थानमा उक्लिएको छ।
तेस्रो स्थानमा झरेको अमेरिकाले ११ स्वर्णसहित कुल ३१ पदक जितेको छ। रसियन ओलम्पिक टिम ७ स्वर्णसहित कुल २३ पदक जितेर चौंथो स्थानमा रहदा अष्ट्रेलिया ६ स्वर्णसहित कुल १६ पदक जितेर पाँचौं स्थानमा रहेको छ।
यस्तै ग्रेट ब्रिटेनले ५ स्वर्ण जित्दा दक्षिण कोरियाले ४ तथा जर्मनी र फ्रान्सले ३र३ स्वर्ण पदक हात पारेका छन्। २ स्वर्ण जित्नेमा नेदरल्यान्ड्स, क्यानडा, हंगेरी, स्लोभानिया र कोसोभो रहेका छन्।
त्यस्तै १ स्वर्ण जित्ने राष्ट्रको संख्या २१ रहेको छ। बुधबार नेपालकी पौडीबाज गौरिका सिंहले महिलाको १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी थिइन्। हिट चरणबाट बाहिरिएकी गौरिकाले राष्ट्रिय कीर्तिमान भने बनाईन्। एजेन्सी


























