काठमाडौं, असार २८ । सर्वोच्च अदालत संवैधानिक इजलासमा आजको पेशी सूचीमा प्रतिनिधि सभा विघटनसम्बन्धी रिट ‘हेर्दाहेर्दै’मा राखिएको छ। आजै सुनुवाई निरन्तर रहने वा फैसला आउने सम्भावना दुवै छ। ‘हेर्दा-हेर्दैमा राख्नुको अर्थ सुनुवाई जारी छ भन्नु हो’ कानुन व्यवसायी ओमप्रकाश अर्यालले इकागजसँग भने, ‘त्यो सुनुवाईमै निरन्तता रहन सक्ने पनि भयो र फैसला पनि आउन सक्छ।’
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिकले इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी रिट विचाराधीन छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री नियुक्त गरियोस् र प्रतिधिनिधि सभा पुनस्स्थापनाको मागसहित राष्ट्रपतिलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए।
अघिल्लो पटक २०७७ फागुन ११ मा प्रतिनिधि सभा विघटनबारे फैसला आउँदा पनि ‘हेर्दाहेर्दै’मा राखिएको थियो। तर त्यही दिन फैसला आएको थियो। अर्यालका अनुसार, ‘न्यायाधीशहरुले आफ्नो राय लेखेर आएको हुनुपर्छ। त्यो रायमा सहमति भयो भने फैसला आउन सक्छ र रायमा सहमति भएन भने अझै छलफल समय नपुगी सुनुवाई लम्बिन पनि सक्छ। तर, बहस-पैरवी चाहिँ हुँदैन।’


























