काठमाडौं, असार २७ । एमाले एकता प्रयासका लागि कार्यदलको बैठक जारी रहेका बेला पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक आह्वान गरेका छन्।
उनले आइतबार ४ बजेका लागि बालुवाटारमा आह्वान गरेको बैठकमा सामेल हुन विद्रोही पक्षका नेताहरुलाई पनि निम्तो दिएका छन्। ओलीले स्थायी कमिटी बैठक आह्वान गरेसँगै खासगरी दुई अड्कलबाजी तीब्र भएका छन्। पहिलो, एमाले एकताका लागि सहमति हुँदैछ। दोस्रो, आन्तरिक विवाद थप गिजोलिँदैछ।
एमाले केन्द्रीय कार्यलयका सचिव शेरबहादुर तामाङले यो बैठकमा नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुलाई पनि डाकेको जानकारी दिए।
उनले भने, ‘हामी मूलतः २ जेठमा फर्किएर बोलाएको यो स्थायी कमिटी बैठक पहिलो हो। यो बैठकमा हामीले उहाँहरु (नेपाल पक्ष) लाई पनि निम्तो दिएका छौँ। बैठकमा आउने नआउने कुरो उहाँहरुमा निर्भर हुन्छ।’
आजै सहमति हुन्छ त ? भन्ने प्रश्नमा उनले सम्भवतः स्थायी कमिटी बैठक सुरु हुने बेलासम्म कार्यदलले टुंगो लगाउने बताए। एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक ६ घण्टादेखि सिंहदरबारस्थित अर्थमन्त्रालयमा जारी छ।


























