काठमाडौं, असार २७ । नेकपा एमाले विवाद समाधान गर्न गठित कार्यादलले बैठक सहमति नजिक पुगेको छ। सहमतिलाई अन्तिमरुप दिन आज पनि कार्यदल बैठक बस्दैछ।
आज बस्ने बैठकले समझदारी कायम गर्ने दस्तावेजलाई सार्वजनिक गर्ने जनाइएको छ। कार्यदल सदस्यहरुले सहमतिको विन्दुमा पुगेको जनाउँदै आज बस्ने बैठकले एकताको सन्देश दिने दाबी गरेका छन्।
‘निर्णायक’ भनिएको हिजोको बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै कार्यदलका सदस्य गोकर्ण विष्टले समस्या लगभग समाधानको अबस्थामा पुगेको र अब त्यसलाई अब बस्ने बैठकमा औपचारिता दिन मात्र बाँकी रहेको बताए।
उनले भने, ‘कार्यदलभित्र लगभग सबै कुरा मिलेको छ यसलाई आइतबारको बैठकले औपचारिकता दिनेछ, तपाइँहरुले सुखद समाचार सुन्न पाउनुहुन्छ।’
नेता डा.भीमबहादुर रावलले दलमा देखिएको समस्या समाधानको अन्तिम विन्दुमा पुगेको र चाँडै सहमतिको निष्कर्षमा पुग्ने बताए।
कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। खनाल–माधवकुमार नेपालका तर्फबाट रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन्।


























