काठमाडौँ, २५ जेठ। सन् २०१९ को कोरियाली भाषा परीक्षामा सहभागीमध्ये अमर्यादित गतिविधि गरेको भन्दै ४७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुलाई सार्वजनिक अपराध ऐनअनुसार कारवाही हुने प्रहरीले जनाएको छ। परीक्षामा थप कडाइ गरिएकाले विगतको तुलनामा यसपटकको परीक्षा थप मर्यादित ढङ्गबाट चलेको इपिएस कोरिया शाखाले जनाएको छ।
पहिलो दिन शनिबार ४६ हजार युवा सहभागी भएका थिए। काठमाडौँ, ललितपुर र पोखराका विभिन्न ३२ केन्द्रमा एकैसाथ सञ्चालन भएको भाषा परीक्षामा ४६ हजार १९६ जना सहभागी भएको शाखा निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए। चार हजार ३७ परीक्षार्थी भने अनुपस्थित भएको उनले बताए। भाषा परीक्षा आइतबार पनि सञ्चालन हुनेछ। सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा सहभागी हुन ९२ हजार ३७६ युवाले आवेदन फारम भरेका थिए।
उत्पादनमूलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले फारम भरेका थिए। भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुला गरिएको थियो। दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ। कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजाने छ। कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ।