चितवन, असार २७ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनाको अधिकांश भूभाग पहाडी क्षेत्रमा पर्दछ। त्यस क्षेत्रका जनताको मुख्य समस्या खानेपानी हो। गाउँपालिकाले उच्च प्राथामिकतामा खानेपानीलाई पार्ने गरेको छ।
गाउँपालिका प्रमुख गीता गुरुङले शनिबार मात्र इच्छाकामना–३ दारेचोकस्थित तोक्दाङढापमा खानेपानी आयोजनाको उद्घाटन गरिन्। सो अवसरमा एक घर एक धाराअन्तर्गत ४६ घरमा धारा जडानको काम सम्पन्न भएको छ। उनका अनुसार झण्डै छ किलोमिटर टाढाका दुई खोलाबाट पानी ल्याइएको हो। रु ३५ लाखको लागतमा योजना सम्पन्न भएको हो। उनले भनिन्, “अब तोक्दाङढापवासीले घण्टौँ लगाएर पानी लिन जानु पर्दैन।”
गाउँपालिकाकै वडा नं ६ ढुङ्ग्रेमा रु एक करोडको लगानीमा बन्दै गरेको आयोजना साउनमा सम्पन्न हुँदैछ। त्यहाँ १०० भन्दा बढी घर लाभान्वित हुनेछन्। सो आयोजनाको ७२ धारा जडान भइसकेको गुरुङले जानकारी दिइन्। सोही गाउँपालिकाको वडा नं १ ज्ञानजालामा पनि रु एक करोडको लगानीमा बन्दै गरेको खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ। त्यस आयोजनाले ७० घरपरिवारलाई खानेपानी पुर्याउने छ।
इच्छाकामनाकै वडा नं ५ इच्छाकामना मन्दिर परिसरमा रु एक करोडकै लागतमा खानेपानी आयोजनाको काम भइरहेको छ। पानी निस्किसकेको र धारा जडानको काम भइरहेको उनको भनाइ छ। यस आयोजनाले मन्दिर क्षेत्रसँगै स्थानीय ५५ घरलाई खानेपानी पुर्याउने छ। तीनवटै आयोजना लिफ्टिङ प्रणालीबाट गरिएका हुन्। सबैमा सोलार जडान गरिएका छन्। अप्ठ्यारो भएकाले यी आयोजना सम्पन्न हुन समय लागेको भन्दै उनले आफ्नो गाउँपालिकाको सातवटै वडामा अब खानेपानीको समस्या नहुने बताइन्। उनले भनिन्, “अब हाम्रो गाउँपालिकामा खानेपानीको दुःख नहोला।”
आफू प्रमु्ख भएपछि खानेपानीलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको भन्दै उनले खानेपानीको समस्या मुख्यरूपमा महिलाले पाउने गरेको बताइन्। रासस


























