असार १९ । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत पहिलो क्वाटरफाइलनमा जित हात पार्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ। रुसमा शुक्रबार राति भएको खेलमा स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा प्रवेश गरेको हो।
सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो। पेनाल्टी सुटआउटमा स्पेनले जित हासिल गर्यो। स्पेनले खेलको आठौं मिनेटमा आत्मघाती गोलबाट अग्रता बनाएको थियो। स्वीट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरे।
स्पेनका जोर्डी अल्बाले बक्स बाहिरबाट प्रहार गरेको बल डेनिसलाई लाग्दै गोलमा परिणत भएको थियो। खेलको दोस्रो हाफको ६८ औं मिनेटमा कप्तान जद्रान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई १-१ गोलको स्थितिमा ल्याएका थिए। खेलको ७८ औं मिनेटमा रेफ्रीले स्वीट्जरल्यान्ड फ्रिउलरलाई रेड कार्ड दिएसँगै १० खेलाडीमा सीमित बनेको थियो। एजेन्सी


























