काठमाडौ, ०५ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बजेट पारित भएपछि केही मन्त्रीहरु हेरफेर हुन सक्ने बताएका छन्। कास्कीमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्। मन्त्री हेरफेर हुन सक्ने विषयबारे पत्रकारले राखेको जिज्ञासमा प्रचण्डले भने, ‘बजेटपछि सरकार पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट प्रधानमन्त्री र मेरोबीचमा कुराकानी भएको छ। तर, अहिले नै कुनै निर्णय भएको छैन। प्रधानमन्त्रीले चाहेको बेलामा जतिबेला पनि पुनर्गठन हुन सक्छ।’
विप्लवप्रति उनले राज्यले गर्ने काम जारी राख्ने बताए। उल्टो बाटोबाट कहिँ नपुगिने बताउँदै वार्तामा आउनसमेत आग्रह गरे। ‘काठमाडौंमा बडो दुःखद घटना भयो, चारवटा बम विस्फोट गराएर केही हुने पनि थिएन,’ उनले भने, ‘त्यो कन्फिडेन्ट छैन भन्ने प्रमाण पनि हो। राजनीतिक प्रक्रियामा आउनु नै राम्रो हो।’ उनले सरकार र पार्टीका बारेमा आलोपालोको विषयमा आफूले राखेका भन्दा फरक धारणा सार्वजनिक भएको भन्दै आपत्ति जनाए।