असार १८ । १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो क्वाटरफाइनल खेलमा आज (शुक्रबार) राति बेल्जियम र इटालीबीच प्रतिस्पर्धा हुँदैछ। बेल्जियम र इटालीबीचको खेल जर्मनीको एलिनाज स्टेडियममा हुनेछ। खेल राति पौने १ बजे सुरु हुनेछ।
उपाधि दाबेदार बेल्जियम र इटाली दुबै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेकाछन्। त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ। फिफा वरीयताको शीर्ष स्थानको बेल्जियमले साविक विजेता पोर्चुगललाई हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको हो।
प्रि-क्वाटरफाइनलमा बेल्जियमले पोर्चुगललाई १-० गोल अन्तरले पराजित गरेको थियो। तर, बेल्जियमलाई इटालीविरुद्ध सहज हुने छैन। बेल्जियमलाई इटालीविरुद्ध खेलाडीको चोटले समेत सताउने छ।
‘इटाली सुरुवातमै आक्रामक खेल्नेछ । दोस्रो उनीहरुको संरचना संगठित रहनेछ। हरेक खेलाडीलाई आफ्नो भूमिका थाहा छ,’ बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज भन्छन्।
इटालीविरुद्ध बेल्जियमका प्ले मेकर केभिन डे ब्रुएना र कप्तान तथा विंगर इडेन हाजार्डले खेल्ने सम्भावना कम रहेको छ। दुबैले पोर्चुगलविरुद्धको खेलमा चोट बोकेका थिए।
बलियो देखिएको इटालीले क्वाटरफाइनलमा प्रवेश गर्ने क्रममा अष्ट्रियालाई हराएको थियो। प्रि-क्वाटरफाइनलमा इटालीले अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो।
इटाली शीर्ष वरीयताका टिमविरुद्ध पनि आफ्नो लयलाई कायम राख्न चाहन्छ। तर, कठिन टिमविरुद्ध इटालीलाई सहज हुने छैन।
‘हामी हाम्रो खेल खेल्छौं। हामी सधै उनीहरुलाई सम्मान गर्छौं। हामीलाई थाहा छ उनीहरु कति राम्रो टिम हो,’ इटालीका प्रशिक्षक रोबर्टो मान्सिसी भन्छन्, ‘हामीले देखेका छौँ उनीहरु सहज छैनन्। उनीहरुले अहिलेको उत्कृष्ट टिम हो। त्यसैले हाम्रो लागि हरेक खेल कठिन हुन्छ।’
इटालीलाई खेलाडी चोटले भने सताउने छैन। इटालीका सबै खेलाडी पूर्ण फिट रहेका छन्। जसको फाईदा इटालीसँग हुनेछ। दुई टिमबीच हालसम्म २२ खेल भएको छ। जसमा इटालीले १४ खेल जितेको छ। चार खेल बेल्जियमले जित्दा ४ खेल बराबरीमा सकिएको छ।
मुख्य प्रतियोगितामा दुई टिमबीच पाँचौ पटक प्रतिस्पर्धा हुन लागेको हो। यस अघिको चार भेटमा इटालीले ३ जित निकाल्दा एक खेल बराबरीमा सकिएको छ। एजेन्सी


























