असार १८ । घरेलु टिम इंग्ल्यान्डले श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै जितेको छ। द ओभलमा बिहीबार राति भएको दोस्रो एकदिवसीयमा श्रीलंकालाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिजमा कब्जा जमाएको हो।
श्रीलंकाले दिएको २ सय ४२ रनको लक्ष्य इंग्ल्यान्डले ४३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। इंग्ल्यान्डको जितमा कप्तान इयान मोर्गन र जोय रुटले अर्धशतकीय इनिङ्स खेले।
कप्तान मोर्गन ७५ रनमा अविजित रहे। रुटले अविजित ६८ रन बनाए। ओपनर जासन रोयले ६० रनको अर्धशतकीय इनिङ्स खेले। जोनी बेयर्स्टो २९ रनमा आउट भए।
श्रीलंकाका चमिका करुनारत्ने र वानिन्दु हसरंगाले एक एक विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो।
श्रीलंकाका लागि धनन्जय दा सिल्भाले ९१ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै डसुन शनकाले ४७ रन जोड्दा वानिन्दु हसरंगाले २६ रन जोडे। चमिका करुनारत्ने २१ रनमा आउट भए।
श्रीलंकालाई सस्तैमा समेट्न इंग्ल्यान्डका साम कुरानले ५ विकेट लिए। डाभिड विलिको नाममा ४ विकेट रह्यो। यस जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा २-० को अग्रता बनाएको छ।
आईसीसी विश्वकप सुपर लिग अन्तर्गत रहेको अन्तिम खेल आइतबार हुनेछ। यस अघि इंग्ल्यान्डले तीन खेलको टी-ट्वान्टी सिरिज ३-० ले जितेको थियो। एजेन्सी


























