काठमाडौं, जेठ ८ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको स्थानीय कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन्। यसअघि शनिबार दिउँसै बसेको माओवादीसहितको सर्वदलीय बैठकले उक्त कदमविरुद्ध आइतबार सर्वोच्च अदालत जाने निर्णय गरिसकेको छ।
सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन र चुनावको मिति राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले मध्यराति प्रधानमन्त्री पदका लागि ओली र शेरबहादुर देउवाले गरेको दाबी नपुग्ने निर्णय गरेलगत्तै सरकार निर्माणका लागि संविधानअन्तर्गतका सबै ढोकाहरू बन्द भएका थिए ।
त्यसपछि राति १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर १२ बजेर ४५ मिनेटमा संविधानको धारा ७६ (७) बमोजिम प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै दुई चरणमा चुनावको मिति तय गरेका हुन् ।


























