काठमाडौं, जेठ ७ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलले राजनीतिक निकास दिने दाबी गरेका छन्। सिंहदरबारमा आफू पक्षका सांसदहरुसँग छलफल गर्नुअघि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै ठाकुरले आफ्नो दलले निकास दिने दाबी गरेका हुन्।
सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘हामी निकास दिन्छौँ।’ ठाकुरले मध्यान्ह १२ बजे अर्का अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुसँग छलफल हुने पनि जानकारी दिए।
अध्यक्षद्वय यादव र ठाकुरले आफ्नै नेतृत्वमा सरकार गठन हुने अवस्था आए मात्रै सरकारमा जाने निर्णय पार्टीले गरेको भन्दै संयुक्त वक्तव्य केही दिनअघि मात्रै जारी गरेका थिए।
नयाँ सरकार गठनमा निर्णायक देखिएको जनता समाजवादी पार्टीको संसदीय दलको बैठक अहिले बसिरहेको हो। ठाकुरले निकास दिने दाबी गरे पनि यो बैठकमा जसपाको उपेन्द्र यादव समूह सहभागी छैन। राष्ट्रपतिले ७६ (५) को सरकार गठनका लागि बहुमतको दाबी पेश गर्न आज साँझ पाँच बजेसम्मको समय दिएकी छिन्।


























