काठमाडौं, जेठ ७ । नयाँ सरकार गठनमा सहभागी हुने वा सरकारविरुद्ध जानेबारेमा नेपाली कांग्रेसले अन्य दलसँग छलफल गरेर मात्र निष्कर्णमा पुग्ने निर्णय गरेको छ। आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिई धारा ७६(५) को साहरा लिएकोमा काँग्रेस बैठकले विरोध जनाएको सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए। अब कांग्रेसले के गर्छ त? जवाफमा सहमहामन्त्री महतले भने, ‘अन्य दलसँग पनि आजै छलफल हुन्छ। छलफलबाट आउने निष्कर्ष अनुसार रणनीति तय गरेरर अघि बढ्छौ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अन्तर्गतको नयाँ सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको थियो। कांग्रेसले लोकतन्त्र रक्षाका लागि सबै विकल्पमा छलफल गर्नेसमेत महतले बताए। ‘सबै विकल्पमा छलफल गर्छौ। लोकतन्त्र जोगाउन ओली प्रवृत्ति विरुद्ध कुन बाटो अख्तियार गर्दा हुन्छ। त्यसको बारेमा छलफल गर्छौ। आजै टुंगोमा पुग्छौ,’ उनले भने।
नयाँ सरकारमा दाबी प्रस्तुत गर्न राष्ट्रपतिले ५ बजेसम्मका लागि समय दिएको छ। अन्य कुन कुन दलसँग छलफल गर्ने भन्नेबारे महतले स्पष्ट पारेनन्। त्यसैगरी कुन नेतासँग कतिबेला भेट्नेबारे पनि उनले खुलाएनन्। यता जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्ने गरी सरकारमा दाबी प्रस्तुत गर्ने तयारी गरेको बताइएको छ।


























