काठमाडौं, साउन ५ । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले विश्वासको मत लिनुअघि गरेको प्रतिबद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले संविधान संशोधन, रेशम चौधरीलगायत बन्दीहरूको रिहाई, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीय तहको पुनःसरंचना, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो।
बैठकपछि विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले आफ्ना माग पूरा गराउन वर्तमान प्रधानमन्त्रीसँग माग गर्ने र अघिल्लो सरकारले गरेका सकरात्मक कामका लागि धन्यवाद दिने निर्णय भएको जनाएका छन्।
बैठकले कोभिड १९ को खोप सबै नागरिकलाई तत्काल उपलब्ध गराउन तथा विपन्न नागरिकका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्नसमेत सरकारसँग माग गरेको छ। त्यस्तै वर्षाका कारण मुलुकको विभिन्न स्थानमा बाढी, पहिरो र डुबानजस्ता समस्यामा परेका जनतालाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति सुनिश्चित गर्न समेत जसपाले माग गरेको छ।


























