काठमाडौं, बैशाख १५ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस केन्द्रीय समिति बैठक बस्ने भएको छ। कोरोना महामारीका कारण पार्टीको १४ औं महाधिवेशन फेरि प्रभावित हुने देखिएपछि काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो।
आइतबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा १४ औं महाधिवेशनलाई प्रमुख एजेण्डा बनाएर केन्द्रीय समितिमा छलफल गर्ने सहमति भएको थियो। आगामी भदौ दोस्रो साता महाधिवेशन गर्ने भनिए पनि अहिलेसम्म क्रियाशील सदस्यता इन्ट्री हुन सकेको छैन।
काँग्रेसले केन्द्रीय सदस्यहरूको पिसिआर गरेर मात्र बैठक बन्ने भन्दै सोमबारको बैठकमा लागि निर्धारित बैठक स्थगित गरिएको थियो। काँग्रेस केन्द्रीय कार्यालयमा सचिव प्रेम केसीका अनुसार अधिकांश केन्द्रीय सदस्यको पिसिआर परीक्षण गरिएकोमा कसैमा कोरोना पोजेटिभ देखिएको छैन। नेताका सुरक्षामा खटिएका केहीलाई पोजेटिभ देखिएको उनले बताए।
केन्द्रीय सदस्यलाई कोरोेना नदेखिएकाले आज दिउँसो २ बजे सानेपास्थित पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक बस्ने केसीले जानकारी दिए। बैठकमा महाधिवेशनका अलवा कोरोना महामारी र संघ र प्रदेश सत्ता समीकरणका सन्दर्भमा पनि छलफल हुने बुझिएको छ।
काँग्रेसले केन्द्रदेखि प्रदेशसम्म नेकपा एमाले नेतृत्वको सरकार विस्थापनका लागि अग्रसरता लिएको देखिन्छ। केन्द्र र लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) मा देखिएको विवादले सरकार विस्थापनमा जटिलता खडा भएको छ। जसपा अनिर्णित हुँदा काँग्रेसले कदम चाल्न सकेको छैन।


























