काठमाडौं, बैशाख १० । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को विजेताले ३५ लाख पाउने भएका छन्।
आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलन गर्दै लिगको विजेताले ३५ लाख पाउने जनाएको छ। यस्तै उपविजेताले १५ लाख पाउने छन्। व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही १ लाख पाउने आयोजकले जनाएको छ। प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीले १ लाख पाउने छन्।
त्यस्तै हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार र हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार पाउने छन्। पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ।
लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिगको उद्घाटन खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेल भोलि ९शनिबार० हुनेछ । काठमाडौं र ललितपुरबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ।
दोस्रो दिनबाट भने हरेक दिन दुई खेल हुनेछ। अखिल नेपाल फुटबल संघ ९एन्फा० को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ। जेठ १ सम्म सञ्चालन हुने लिगमा कुल २५ खेल हुनेछ।


























