काठमाडौं, चैत्र ३१ । सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि व्यूँतिएको नेकपा एमालेभित्र चर्किएको विवाद उत्कर्षमा पुगेको छ।
फागुन २८ मा संस्थापन पक्षले छलेर बैठक राख्दै पदाधिकारीहरूको जिम्मेवारी खोस्नेदेखि माओवादी केन्द्र छाडेर गएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि बढेको एमाले विवाद थप चर्किएको छ।
जिम्मेवारी खोसिएर रूष्ट बनेको वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहले कार्यकर्ताको राष्ट्रिय भेला गरेपछि नेपालसहित नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम रावललाई ओलीले निलम्बन गरेका छन्।
संस्थापन पक्षले निलम्बन गरेपछि देशभर समानन्तर कमिटी गठन गर्दै अघि बढेको खनाल(नेपाल समूहले पार्टी स्थापना दिवसलाई ओलीविरूद्ध विशेष कार्यक्रम’ गर्ने दिनको रूपमा मनाउने तयारी गरेको छ।
वैशाख ९ गते सो समूहले पार्टी स्थापना दिवसमा सबै जिल्लामा जिल्ला कमिटीले ओलीविरुद्ध ‘विशेष कार्यक्रम’ गर्ने भएको हो। वरिष्ठ नेता माधवकुमार नेपालले जारी गरेको सर्कुलरमा वैशाख ९ गते ओलीविरुद्ध विशेष कार्यक्रम गर्ने उल्लेख गरिएको छ।
सर्कुलरमा वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलन समाप्त पार्न षडयन्त्रका तानाबाना बुनेको भन्दै पार्टीलाई पुनःगठन र संगठित गर्ने अभिभारा आफूमाथि आइपरेको बताएका छन्।


























