चितवन, चैत्र ३१ । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य रुपेश अधिकारी नेपाल सुपर लिग (एनएसएल) मा चितवन एफसीको व्यवस्थापक बनेका छन्।
फ्रेन्चाईज क्लब चितवन एफसीले सोमबार अधिकारीलाई व्यवस्थापकको रुपमा नियुक्त गरेको जनाएको छ। पछिल्लो समय फुटबलमा सक्रिय रहेका रुपेश चितवनको व्यवस्थापकको रुपमा देखा परेका हुन्।
उनले व्यवस्थापकको रुपमा प्राप्त हुने रकम राष्ट्रिय महिला टिमका घाईते खेलाडी सावित्रा भण्डारी, हिरा भुजेल र समिक्षा घिमिरेलाई उपलब्ध गराउने बताए।
आईएमी ग्रुपको स्वामित्वमा रहेको चितवनमा मार्की खेलाडीको रुपमा राष्ट्रिय खेलाडी भरत खवास रहेका छन्। प्रशिक्षकमा मेघराज केसी छन्। सहायक प्रशिक्षकमा शैलेश कर्माचार्य अनुबन्धित छन्। उनले फ्रेन्चाईज प्रतियोगितालाई सहयोग गराउने उद्धेश्यले एनएसएलमा जोडिएको उल्लेख गरे।
‘मेरो आबद्धताले एनएसएललाई सहयोग पुग्ने विश्वास लिएको छु । यसले सकारात्मक सन्देश प्रभाव गर्छ जस्तो लाग्छ।’ उनले भने।
‘एनएसएलमा आबद्ध हुने योजना थिएन। तर क्लबका पदाधिकारीले टिमको व्यवस्थापन हेर्नका लागि अनुरोध गरेपछि निर्णय लिएको हुँ। यसमा व्यक्तिगत फाईदा भन्दा पनि फुटबललाई सहयोग गर्ने भावनाका साथ जोडिएको हुँ।’ उनले थपे।
यसअघि एन्फाको युवा टिमको व्यवस्थापक रहेका रुपेश यस पटक चितवन एफसीको व्यवस्थापक बनेका छन्। उनीसंगै केन्द्रिय सदस्य मधुसुदन उपाध्याय काठमाडौं रेजर्सको व्यवस्थापक भुमिकामा छन्। उपाध्याय राष्ट्रिय फुटबल टिमका समेत व्यवस्थापक हुन्।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज सुपर लिग बैशाख ११ बाट २५ गतेसम्म दशरथ रंगशालामा हुदैछ। प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक भैसकेको छ। पहिलो खेलमा चितवनले ललितपुर सिटीसंग प्रतिस्पर्धा गर्नेछ।


























