काठमाडौं, चैत्र ५ । नेकपा एमाले खनाल-नेपाल समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन्। समूहले ललितपुरको सानेपामा राष्ट्रिय भेला गरिरहेको छ। राष्ट्रिय भेलामा देशभरबाट नेता, कार्यकर्ताको उपस्थिति छ।
भेलामा उपस्थित नेताहरूले अध्यक्ष ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका हुन्। नेकपा (एमाले) का नेता भीम आचार्यले पार्टी संस्थापन पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा पार्टीलाई मजबुद बनाउने उदेश्यका साथ राष्ट्रिय भेला गरिएको बताए। भेलाले कम्युनिष्ट आन्दोलन कमजोर हुन नदिन अध्यक्ष ओलीलगायत आम नेता, कार्यकर्तालाई आव्हान गर्ने उनको भनाइ छ। वामपन्थी आन्दोलनलाई एकिकृत गर्ने कुरामा आफूहरुको जोड रहेको पनि उनले बताए।
नेता झपट रावलले पार्टी नेतृत्वले स्वेच्छाचारी गतिविधि सच्याउनुपर्ने बताए। नेतृत्वले अझै अरु गल्ती गर्ने सम्भावना भएकाले दबाबका लागि भेला राखिएको उनको भनाइ छ। नेता ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीले चैत्र ७ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठक स्थगित गरेर आफूहरू सहितको अर्को बैठक बोलाउनुपर्नेमा जोड दिए।
नेतृ समिना हुसेनले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गलत नियतका साथ बिहीबारको संसदीय दलको बैठक राखेको बताइन्। एमालेलाई एकताबद्ध बनाउन ओलीको भुमिका हुनुपर्ने उनको भनाइ छ।
एमाले नेता मोहनचन्द्र अधिकारीले ओलीले वर्गीय दृष्टिकोण छोडेको आरोप लगाए। ओली गुट परस्त मान्छे भएको र एकलौटी निर्णय गर्ने गरेको उनको भनाइ छ। नेता अधिकारीले गुटबन्दी त्यागेर एकताको पहल गरे आफूहरू पनि गल्ती सच्याउन तयार रहेको बताए।


























