चितवन । मृत्यु एक शाश्वत सत्य हो, जसलाई कसैले नकार्न सक्दैन। परिवारको कुनै सदस्यको देहान्त भएमा परिवारजन शोक संप्तत हुन्छन्। कुनै व्यक्ति दिवंगत भएमा उनका नातेदार, इष्टमित्र तथा शुभचिन्तकहरु मृतकका घरमा भेला भई परिवारलाई सान्त्वना दिने र दिवंगत आत्माको चिर शान्तिको कामना गर्नु हामी हिन्दु धर्मालम्बीहरुको नियमित प्रक्रिया नै हो। अन्तिम संस्कार मानिसको मृत्युपश्चात् गरिने संस्कार हो। यो विभिन्न धर्म र संस्कृतिअनुसार फरक-फरक हुन्छ। मृत्युपश्चात् गरिने संस्कार थारु समुदायमा आफ्नै संस्कृति मूल्यमान्यताको आधारमा सम्पन्न हुन्छ। मृत्यु भएको समयमा नुन छाड्नुपर्ने हुन्छ। थारु समुदायमा महिलाको मृत्यु भयो भने १३ दिन, र पुरुषको मृत्यु भयो भने १२ दिनसम्म शोकसभा मनाएर काजक्रिया गरिन्छ।
कोही अविवाहित व्यक्तिको मृत्यु भएको खण्डमा भने पाँच दिनसम्म ‘पचरतिया’ काजक्रिया गरिन्छ। बालबालिकाको हकमा भने एक दिन खरतेल काजक्रिया गरिन्छ। यसरी थारु समुदायले मृत्यु संस्कारमा उमेरअनुसार फरक-फरक शैलीमा आफ्नो कर्मकाण्ड गर्ने प्रचलन छ। पहिलेपहिले थारु समुदायमा काेही कसैको मृत्यु भएमा गाड्ने चलन थियो। तर अहिले जलाएर अन्तिम संस्कार गर्ने परम्परा छ। मृत्यु भएको दिनमा मृतकका परिवार र आफन्तजन शोकमग्न हुन्छन्। मृत्यु भएको व्यक्तिलाई चितामा सुताएर दिने आगोलाई मुख आगो भनिन्छ। जुन आगो मृतकका छोराले दिने चलन छ। त्यसपछि अरु आफन्तजनहरुले दिने गर्छन्। मृतकका छोरा छैन भने घरका एकजना नजिकका व्यक्तिले सम्पूर्ण काजक्रिया गर्नुपर्छ, जसलाई थारु भाषामा ‘उतरी बोकई’ (क्रिया बसेको) भनिन्छ। मृत्यु भएको दिनदेखि १२/१३ दिनसम्म क्रियामा बस्ने व्यक्तिले नुन, तेल हालेको तरकारीहरु खान मिल्दैन।
काजक्रियामा थारु जातिको आफ्नै परम्परा छ। क्रियाको अन्तिम दिनको अगाडिको दिनलाई ‘मटेहरी’ भनिन्छ। यो दिनमा छोरीचेली अनि घरका आफन्तहरुलाई बोलाइन्छ। यस दिनमा सबैजना नुन, तेल नहालेको दाल, भात, तरकारी खानुपर्ने हुन्छ। काजक्रियाको अन्तिम दिनमा ब्राम्हण बोलाई खोलामा गएर आफ्नो रितिरिवाज, परम्पराअनुसार पूजा, होमजप र कपाल मुन्डन गरी ब्राम्हणलाई दान गर्ने गरिन्छ। यो घडीको अन्तिम दिनलाई खौर भनिन्छ।
यस दिन साँझपख नाच अथवा तमुरेहर (बाजा बजाउने)लाई बोलाएर पहिले रातभरी गीत गाउने गरिन्थ्यो। तर अहिले काज क्रियाहरुमा तमुरेहर बोलाएर गीत गाउने परम्परा हराइसकेको छ। यो समयमा गाउने गीतहरुमा जीवन, मृत्युको मर्मस्पर्शी सन्देश अनि वेदनाको कारुणीक मर्महरु लुकेका हुन्छन्। मृतक आत्माको चिर शान्तिको कामना गर्दै, स्वर्गमा बास होस् भन्ने सन्देश त्यस गीतले बोकेको हुन्छ। बिहानीपख यो गीत गाइसकेपछि काजक्रियाको समापन भएको मानिन्छ।

























