– सविता अधिकारी
१५/१६ वर्षको कलिलो उमेरदेखि नै उनले संघर्ष गर्नुपर्यो। १६ वर्षको उमेरमा बिहे भयो। वृद्ध बुबा आमा घरको जिम्मेवारी उनीमा नै रह्यो। उनले आफू दु:ख गरेर भए पनि श्रीमानलाई पढ्न पठाइन्। तामाङकी छोरी हुन्। उनलाई त्यो काम खासै राम्रो लागेको त होइन। तैपनि घर खर्चको लागि दिनमा २४/२५ बोतल मदिरा ठेक्का पुर्याउने गर्थिन्।
बुद्धिमाया तामाङ घलेले आफूमात्र होइन, गाउँका धेरै महिलालाई स्वाबलम्बी बनाएकी छिन्। सीपले जीवन जिउन सहज बनाउँछ। आर्थिक अभाव नै महिला हिंसाको मुख्य कारण भएकोले पनि उनीहरू आर्थिक हिसाबले सक्षम बन्न जरुरी छ भन्ने ठान्छिन् बुद्धिमाया। घर घरमा रोजगारीको सिर्जना गरेकी छिन्।
तालिमपछि कच्चा पदार्थ उपलब्ध गराइदिने र सामान पनि खरिद गरिदिने व्यवस्था केन्द्रले गरेको छ। समुदायमा १७० जना चर्खा चलाउने, ७० जना कार्पेट (गलैँचा) बनाउने, २० जना उपहारजन्य सामान, १४ जना ढाकाको कपडा र सपिङ् व्याग बनाउने १५ जना दिदी बहिनीहरू छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोषले दिएको चर्खामार्फत् १० दिन ऊन कात्ने तालिम लिइसकेपछि यही कामलाई नै आयआर्जनको स्रोत बनाइन्। उनले मदिरा बेच्ने कामलाई त्यही दिन छोडिन्, जुन दिन ऊन कात्न सिकिन्।
भन्छिन्, “पत्रिका बेचें, पसल पनि गरें। विभिन्न संघ-संस्थामा जोडिएर काम गरें।” कमाइ राम्रो हुँदै गयो। २०६४ सालमा ऊनको काम बन्द हुन पुग्यो। राष्ट्रिय प्रकृति संरक्षण कोषको स्थानीय स्रोत व्यक्तिको रुपमा कालिका नगरपालिकाले घुम्नलाई खटायो। उनी वनकै काम गर्न थालिन्। तर गाँउका दिदी बहिनीले ‘हैन यो कार्यक्रम त सञ्चालन गर्नुपर्छ’ भन्ने आग्रह भयो। त्यसपछि वि.सं. २०७५ मा शुरु भयो बि.एम हस्ताकला प्रशिक्षण केन्द्र कालिका नगरपालिका वर्डा नं.२ पदमपुरमा। गाउँका दिदी बहिनीले तयार गरेका सामानको बजार व्यवस्थासहित तालिम सञ्चालन गर्ने यही केन्द्रको भयो।
केन्द्रको मुख्य उद्देश्य थियो समुदायमा रहेका विपन्न वर्गका व्यक्तिलाई आर्थिक उपार्जनमा सहयोग गर्नु। तालिमपछि कच्चा पदार्थ उपलब्ध गराइदिने र सामान पनि खरिद गरिदिने व्यवस्था केन्द्रले गरेको छ। समुदायमा १७० जना चर्खा चलाउने, ७० जना कार्पेट (गलैँचा) बनाउने, २० जना उपहारजन्य सामान, १४ जना ढाकाको कपडा र सपिङ् व्याग बनाउने १५ जना दिदी बहिनीहरू छन्। घरको काम सकेर फुर्सदको समय सदुपयोग हुने र आम्दानीको स्रोत पनि हुने यहाँका दिदी बहिनीले बुझेका छन्। त्यसैले गाँउका धेरै महिला कोही ऊन बुन्दै त कोही गलैंचा बुन्दै गरेको देखिन्छन्। उनीहरुको इच्छा र आवश्यकताअनुसार केन्द्रले महिनामा दुई पटक ज्याला दिने गरेको छ।

केन्द्रले आफ्नो कार्यालयलाई व्यवस्थित गरी थप विविध शीर्षकमा तालिम दिने उद्देश्य लिएको छ। तर पहिले सबैको घरघरमा पुग्ने केन्द्रकी सञ्चालक तामाङलाई आजकल बजार व्यवस्थापनमा व्यस्त हुनुपर्ने भएकोले त्यति भ्याएकी छैनन्।
धेरै दिदी बहिनी सिक्ने क्रममा छन्। अझै पनि मागअनुसार उत्पादन गर्न सकिएको छैन। घामपानी भन्नु परेन। न कुनै डिग्री हासिल गर्नुपर्यो। सीप जाने काम गर्न सकिने भएकोले पनि सबै उमेर समूहका दिदी बहिनीका लागि यो काम राम्रो र सहज बनेको छ। आफ्नो घर खर्च चलाउन काम गर्ने त छन् नै, कलेज पढ्ने विधार्थीहरू पनि आफ्नो पढाई खर्च जुटाउन यो काममा लागेका छन्। कलेज पढ्ने विधार्थीदेखि ६० वर्षको उमेरसम्मका आमा, दिदी, बहिनीलाई यो कामले व्यस्त बनाएको छ। कहिलेकाहीँ बैठकमा सबैले आ-आफ्ना सुख दु:खको कुरा सुनाउँदा आफूलाई रमाइलो लाग्ने तालिम केन्द्रकी सञ्चालक बुद्धिमाया बताउँछिन्। उनी वाग्मती प्रदेश सरकारद्वारा उत्कृष्ट महिला उद्यमी पुरस्कार रु एक लाख सहित सम्मानित भईसकेकी छिन्।
दुर्गादेवी खनाल आफ्नो घरको काम सकेर बेलुका ११ बजेसम्म टिभीलाई साथि राखेर चर्खामा धागो कात्छिन्। त्यही टिभी हेर्दै काम गर्छिन्। उनले ऊन कात्न शुरु गर्दा किलोको पचास थियो। अहिले १७० भएको छ। बिना लगानीको कमाइमा उनी खुशी छिन्। कमाइबाटै समूहमा बचत पनि गरेकी छन्।

दुई चार पैसाको लागि कसैसँग आश गर्न नपर्नु नै उनको लागि गौरवको कुरा भएको छ। गलैँचा बुन्न थाले २० वर्ष भयो अर्की देवीले। २०५८ बाट काठमाडौंमा सिकेर बुन्न शुरु गरेकी उनले बीचमा ५/६ महिना खाली बस्नु परेछ। यता आएपछि यही गर्न थालिन्। “बाहिर काम पर्दा मेला जान्छु फुर्सदको समयमा बुन्छु”, उनले आफ्नो दैनिकी सुनाइन्।
उसैगरी गलैंचा बुनिरहेकी अन्जनाको अनुभव भने ३ वर्ष जतिको छ। उनलाई माइतीमा सुकमाया भनेर चिन्छन्। उनलाई पनि फुर्सदको सदुपयोग यही कारखानाले गर्न दिएको छ।
“नेपालमा नेपाली गलैँचाले बजार पाउन गाह्रो छ। महंगो भयो भन्छन्,” केन्द्रकी सञ्चालक तामाङले बजारको समस्या सुनाइन्। एउटा गलैँचा तयार पार्न २०/२२ दिन लाग्छ। लगानी पनि बढी नै हुने भएपछि महँगो लाग्नु स्वाभाविक रहेको उनी बताउँछिन्। “त्यसैले हामीले यहाँ उत्पादन गरे पनि स्वदेशमा भन्दा विदेशमै बढी माग हुन्छ, हामी सबै विदेश नै पठाउँछौं,” उनले भनिन्।
विभिन्न परिस्थितिका कारण अध्ययन गर्न नपाए पनि १६ वर्षपछि आफ्नै छोरीसँग उनले कक्षा आठबाट पुन: पढ्न शुरु गरिन्। प्लस टु पनि पास गरिन्। पढाइको महत्त्व पनि बुझेर होला कामसँगै अध्ययनलाई पनि सँगै लैजाने सोचमा छिन्। परिवारको पनि उत्तिकै साथ र सहयोग मिलेको छ। “हिजोका दिनमा आफूले दुई चार पैसा कमाउन कति दु:ख गरें, अहिले अरु दिदी बहिनीलाई ५ हजारदेखि २५,००० सम्म तलब दिन पाउँदा खुसी लाग्छ,” उनी भन्छिन्।