चितवन । खाना मानव जीवनको आधारभूत आवश्यकता हो। स्वाद र सन्तुष्टीको लागि पनि खाना महत्त्वपूर्ण छ। पछिल्लो समय मानिसहरू घरमै बसेर परिवारसँग रमाउने भन्दा पनि होटल तथा रेष्टुरेन्टमा गएर खानपान गर्ने चलन बढ्दै गएको छ। अझ भनौँ साथीहरूसँगको भेटघाट त घरमा भन्दा बाहिर नै बढी हुने गर्दछ। समय फेरिँदै जाँदा मानिसहरूको चाहना पनि बदलिँदै जाने हुँदा त्यसैलाई मध्यनजर गरी पाक शिक्षातर्फ मोडिनेहरू पनि उत्तिकै छन्। कसैले पढेर र कसैले गरेरै यस क्षेत्रमा दक्षता हासिल गर्दै आएका छन्।
लामो समय सम्म विदेशमा पाक कलामा रमाएका भरतपुर–७ कटहरचोकका बालकृष्ण अर्याल अहिले आफ्नै रेस्टुरेण्टका मालिका बनेका छन्। उनी अहिले नेपालमा पिज्जा चिनाउने प्रयासमा छन्। लामो समयदेखि भारतीय खाना बनाउदै आएका उनी पछि इटालीयन खाना तर्फ आकर्षित भए। सोहीअनुसार चितवनको भरतपुरमै रहेर पिज्जालाई नेपालमा चिनाउने गरी एउटा रेष्टुरेन्ट खोलेर सेवा दिँदै आएका छन्। भारत बसाइले पाककलाको ज्ञान लिने मौका पाएका उनी भारतीय खानाका परिकार बनाउनमा सक्षम भए।
उनी लामो समयसम्म भारतसहित विभिन्न मुलुकमा बसे, जहाँ उनी पाककलामै रमाए। सन् १९८५ बाट पकाउन सुरू गरेका उनी भारतीय खाना बनाउनमै तल्लीन भए। त्यसपछि सिंगापुर, क्यानाडालगायतका विदेशी मुलुक घुम्दै जाने क्रममा पनि उनले भारतीय खानाकै परिकार बनाए। खासगरी भारतमा पाँचतारे होटलमा काम गरेको अनुभव संगालेका अर्याल १८ वर्षको उमेरदेखि यससम्बन्धी ज्ञान हासिल गरे।
१९८७ मा भारतबाटै पहिलोपटक सिंगापुर गए। सिंगापुरका नागरिकले भारत आएका बेला आफूले पकाएको परिकार मन पराएपछि सिंगापुर बोलाइए। करिब ३ वर्ष सिंगापुरमा पाक क्षेत्रमै काम गरेपछि उनलाई त्यहीँबाट क्यानाडा पठाइयो। क्यानडाको क्यालगेरीमा थप ३ वर्ष काम गरे। १९९४ सेप्टेम्बरमा उनी अर्को देश हङकङ गए। उनलाई त्यहाँ भने पश्चिमा खानाले आकर्षित गर्यो। त्यसपछि उनी इटालियन खाना बनाउन थाले।
२०१८ सम्म हङकङमा इटालियन रेस्टुरेण्टमा काम गरेका अर्याल आफूसँग भएको नौलो बानी सुनाउँदै भन्छन्, ‘म आफूले कमाएको तलबको आधा पैसा अर्को रेष्टुरेण्टमा गएर नयाँ–नयाँ परिकार चाख्दैमा सकिन्थ्यो।’ छोरा दीपकले पनि होटल व्यवस्थापन पढेर मुम्बईको ओवेरोय होटलमा ३ वर्ष तालिम गरे। पछि उनी त्यहाँबाटै लण्डन गए। लण्डनबाट ४ वर्ष ‘विजनेस म्यानेजमेन्ट’ पढेर नेपाल फर्किएका उनी बुबासँगै भरतपुरमा ‘बालाज रेष्टुरेन्ट’ खोलेर बसेका छन्। बिहान कलेज पढाने उनी दिनभर रेष्टुरेन्टमै व्यस्त हुन्छन्। छोराको पढाइ र बुवाको अनुभवले बालाज रेष्टुरेण्टको जन्म भयो।
बालकृष्णका बुवा पनि भारतीय सेनामा कार्यरत थिए, त्यहाँ उनी सेनाकै लागि खाना बनाउँथे। त्यतिमात्र होइन, उनका पाँच दाजुभाइ सबै खाना बनाउन सिपालु थिए। सोही कारण बालकृष्ण अर्याल पनि छोरी मान्छेले मात्रै खाना बनाउँछ भन्ने सोचबाट टाढा थिए। त्यसैले खाना बनाउने काममा कहिल्यै अल्छी गरेनन्।
‘जसरी हामी विदेशमा काम गथ्र्यौँ, त्यति सहज नेपालमा रहेनछ, त्यसैले हुन सक्छ, नेपालीले विदेशमा जति मिहिनेत नेपालमा गर्दैनन्,’ उनी भन्छन्। खाना हरहमेसा ताजा र स्वस्थ्यकर हुनुपर्छ भन्ने मान्यता राख्छन् अर्याल परिवार। ‘अर्थतन्त्रको मेरूदण्ड भनेकै व्यपार व्यवसाय हो,’ छोरा दीपक भन्छन्, ‘आज हामी बाबाको सीपको कारण नै यहाँ छौँ। उहाँको सीपको परिचय गराउनकै लागि यो रेष्टुरेण्ट खोलेका हौँ।’ त्यसैले पनि रेष्टुरेण्टको नाम बुबाकै नामबाट राखेको उनले सुनाए। बजारमा सामानको भाउको उतारचढाव हुन्छ। त्यसैले निश्चित रकममा रेष्टुरेण्ट चलाउनु पनि चुनौति छ। खानासम्बन्धी राम्रो ज्ञान हुनुपर्छ। खानाको प्रस्तुतीकरणमा पनि ध्यान दिनुपर्छ।
‘डाक्टरले जस्तै हामीले पनि सेतो कोट लगाउँछौँ। यसको मतलब हामीमा पनि केही छ है भन्ने सन्देश त्यही कोटले दिइरहेको हुन्छ,’ बालकृष्ण भन्छन्, ‘मानिसले खानाबाट पनि सन्तुष्टी र आनन्द महसुस गरेको हुन्छ।’ दिनभर रेष्टुरेन्टमै व्यस्त हुन्छन्। कहिलेकाहीँ रातको १२, १ पनि बज्छ। ‘विदेशमा काम गर्दा धेरैै प्रशंसा पाएँ। तर उनीहरूले भनेका कुरा सबै बुझ्न पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो,’ उनी भन्छन्, ‘त्यहीँ बस्दा धेरै कुरा सिकेँ। एकाध वर्ष छ अब उमेरले ६० पुग्न। तर अझै १०, १२ वर्ष यही काम गर्न सकिन्छ कि भन्ने विश्वास छ।’
कटहरचोकबाट ‘होम डेलिभरी’को सेवासमेत दिदै आइरहेको बालाजको थप सेवा पूर्वी चितवनबाट पनि दिलाउने योजनामा रहेको उनी बताउँछन्। भान्छेको पनि कहाँ आफ्नो कथा हुन्छ र? तर, करिब चार दसक भान्छाकै काम गरेका बालकृष्ण अर्यालको अनुभव नै उनको सफलताको कथा बनेको छ।