पछिल्लो समय कोरोना सङ्क्रमणको दर बिस्तारै घट्दो क्रममा छ, जुन सकारात्मक हो। अब विस्तारै सबै मानिसहरूमा पनि सकारात्मक विचारको प्रवाह हुनुपर्छ भन्ने उद्देश्यका साथ लगातार न्युजले शुरु गरेको छ कार्यक्रम ‘कोरोना अनुभव’ जसमा हामी कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएका व्यक्तिहरूको अनुभव सुन्छौं। कार्यक्रमको उद्देश्य हो “कोरोना नामबाट फैलिरहेको आतंकको बीचमा यसबाट अधिकांश व्यक्तिहरू निको हुन्छन्” भन्ने सकारात्मक सन्देश फैलाउनु। यसै क्रममा केही दिनअघि मात्रै कोरोना संक्रमणमुक्त भएका नारायणगढका युवा व्यवसायी दिलीपकुमार श्रेष्ठसँग लगातार न्यूजको लागि विनोद अनुजले कुराकानी गर्नुभएको थियो। प्रस्तूत छ सोही कुराकानीको सम्पादित अंश।
उमेरले पनि युवा हुनुहुन्छ, त्यसमाथि आफैँ सचेत नागरिक हुनुहुन्छ, यति हुँदाहुँदै पनि संक्रमण कसरी भयो?
व्यवसायी भएको नाताले विभिन्न व्यक्तिसँग जानिनजानि भेट हुन्थ्यो। सकभर दुरी कायम गरेरै काम गरेको जस्तो लाग्छ। तर, कस्ता व्यक्तिसँग भेट भएको छ भन्ने कुरा थाह नहुने रहेछ। त्यसैले सेवाग्राहीबाटै संक्रमण सरेको हुन सक्छ।
संक्रमितको प्रतिक्रिया मिश्रित पाइन्छ, कसैलाई बढी नै अत्याउने र कसैलाई केही पनि नहुने। तपाईँलाई चाहिँ कस्तो भयो?
शुरुका केही दिन त हल्का ज्वरो आउने र ज्यान दुख्ने भयो। शुरुमा ज्वरोमात्रै होला भनेर आफूलाई छुट्टै आइसोलेट गरेँ। त्यसपछि पनि ज्वरो कम नभएपछि कोरोनाको लक्षण हुन सक्ने सम्झेर औषधि लिन थालेँ। केही कम भयो। तर, स्वास्थ्यमा असहज महसुस भयो र कोरोना जाँच्दा पोजेटिभ आयो। त्यसपछि अपनाउनुपर्ने सबै उपाय अपनाइयो।
सङ्क्रमणको सर्टिफिकेट पाएपछि घरै आउनुभयो?
अस्पताल नै बस्नुपर्ने अवस्था नभएकोले घरमै आएर होम आइसोलेसनमा बसेँ। दुई हप्ता समय घरभित्रै बसेर सङ्क्रमणमुक्त भएँ।
चिकित्सकको सम्पर्कमा कत्तिको रहनुभयो?
जुन दिन सङ्क्रमण पुष्टि भयो, त्यही दिनदेखि नियमित चिकित्सकको सम्पर्कमा रहेँ। किनकि कतिखेर के समस्या हुन्छ थाह हुँदैन। त्यसैले यस्तो बेलामा चिकित्सकको सम्पर्कमा नियमित रहनुपर्छ भन्ने मलाई लाग्यो। घरमै बसेर उपचार गर्दा के–के गर्नुभयो? योगा गर्ने, झोलिलो पदार्थ बढी सेवन गर्ने अनि शारिरीक व्यायाम गर्नेलगायतका क्रियाकलाप गरेरै संक्रमणमुक्त भएँ भन्ने लाग्छ। खानपानमा चाहिँ विशेष ध्यान दिनुपर्ने रहेछ। मुखमा कुनै स्वाद नै नभए पनि बलजफ्ती खानेकुरा खाएपछि त्यसले शरीरमा रोगप्रतिरोधात्मक क्षमताको विकास गर्दोरहेछ।
केही समस्या हुँदोरहेछ घरमै आइसोलेट हुँदा?
उपचारको क्रममा केही भइहाल्यो भने के गर्ने भन्ने चिन्ता त यसै पनि हुन्छ नै। किनकि अस्पतालमा हुने स्रोतसाधन घरमा हुने कुरै भएन।
घरका अन्य सदस्यलाई पनि सङ्क्रमण सर्न सक्ने सम्भावना थियो होला नि?
म आफू बिरामी भएपछि सतर्कता अपनाएर आइसोलेटेड भएँ। दुई दिनजति हामी श्रीमान् श्रीमती सँगसँगै बस्यौँ। बिरामी भइसकेपछि दुवैजनाको जाँच गराउँदा दुवै जनामा पजेटिभ आयो। र, हामी दुवैजना आइसोलेटेड भयौँ। ६ वर्षकी छोरीलाई भने सङ्क्रमण हुनबाट जोगाउन सक्यौँ।
तपाईँलाई लक्षण देखिए, श्रीमतीलाई कुनै लक्षण देखिएन। व्यक्तिगतरुपमा के महसुस गर्नुभयो?
मलाई १०१ को हाराहारिमा करिब एक हप्तासम्म ज्वरो आइरह्यो। हरेक समय १०० भन्दामाथि नै ज्वरो आइरहेको थियो। तर, श्रीमतीलाई भने त्यस्तो भएन। मात्रै स्वाद र गन्ध थिएन। मलाई भने ज्वरोसँगै स्वाद र गन्ध केही पनि थिएन। र, ज्यान दुख्ने समस्या पनि उत्तिकै थियो। तर, मलाई जति असर श्रीमतीलाई गरेन। कोरोनाले व्यक्तिपिच्छे फरक खालको असर गर्दोरहेछ भन्ने बुझायो। १६ दिनसम्म घरभित्रै बस्दा आफूलाई एकदमै अप्ठ्यारो महसुस भयो कि भएन ? १०/११ दिनसम्म त निकै गाह्रो बनायो। स्वास फेर्न पनि गाह्रो हुने, अनि के होला के होला भन्ने बनायो। सामाजिक सञ्जालमा कोरोनाकै कारण कति मान्छेको मृत्यु भएको खबरहरु देख्दा कताकता डर पनि लाग्यो। अनेक प्रकारका भिडियो देख्दा त्यसले मनमा त्रास चाहिँ पैदा गरायो। सङ्क्रमणलाई म जित्छु भन्ने सोच लिएर बसे पनि यसले अझै सिथिल बनाउँछ कि भन्ने डर चाहिँ लागिरह्यो।
संक्रमण भइहालेमा के गर्ने भन्ने विषयमा पहिले कुनै तयारी थियो?
त्यस्तो तयारी भन्ने त केही पनि थिएन। तर, सकभर नलागोस् भनेर सतर्कता त अपनाएकै थियौँ। लाग्दैन भन्नेमा ढुक्क थियौँ र लागिहालेमा के गर्ने भन्ने विषयमा खासै पूर्व तयारी थिएन।
आफन्त, इष्टमित्रको फरक व्यवहार महसुस भयो?
सङ्क्रमण भइसकेपछि र त्यसअघिको व्यवहारमा फरक पाएँ। अस्पताल पुग्दैमा पनि स्वास्थ्यकर्मीले पनि हामीलाई टाढा बनाएको महसुस गरायो। व्यवहार छुट्टिँदो रहेछ। त्यही डरका कारण एकदमै नजिक रहेका बढी आउजाउ चल्ने परिवारलाई मात्रै जानकारी गराइयो। त्यसैले छिमेकी, आफन्तबाट त्यस्ता महसुस हुन पाएन।
सङ्क्रमण हुनुभन्दा अगाडि र पछाडि तपाईँको व्यक्तिगत धारणामा केही परिवर्तन भयो?
त्यो त भयो। किनकि लाग्नुभन्दा पहिले कोरोना खासै केही होइन होला भन्ने लाग्थ्यो। योभन्दा दुईवर्ष अगाडि पनि डेंगुको ज्वरोले सताएको थियो। कोरोनाले त्यति धेरै असर नपार्ला भन्ने लागेको थियो। तर, सोचेभन्दा फरक नै हुँदो रहेछ। कोरोनाले शरीरलाई नराम्रैसँग गलाउँदो रहेछ। तर, डराइहाल्नुपर्ने त होइन, लागिसकेपछि अझ बढी सचेत नअपनाएर ज्यानै जान सक्ने जोखिम चाहिँ बढी हुँदो रहेछ। विशेष गरेर दीर्घरोगका समस्या भएका व्यक्तिलाई बढी नै असर गर्दोरहेछ।
अन्तिममा तपाईँको सुझाव?
कोभिड लागिसकेपछि सतर्कता अपनाउनुपर्छ। म बलियो छु, युवा छु भनेर हुँदैन। छोइसकेपछि यसले गलाउँछ। लागिहालेमा पनि जित्ने प्रयासमा लागौँ। असहज भए चिकित्सकको सम्पर्कमा रहेर सङ्क्रमणमुक्त हुने प्रयास गरौँ। नआत्तिऔँ, रचेत रहौँ।
हेर्नुहोस् भिडियो:

























