चितवन । कला जीवनको रंग हो। यही जीवन्त रंगसँग खेल्छन्, चित्रकुमार श्रेष्ठ। त्यति मात्र होइन, उनको जिउने आधार नै यही बनेको छ। ३२ वर्षीय चित्रकुमारको दैनिकी आजकल मूर्ति बनाएरै बित्छ। सायद ठूलो भएपछि मूर्तिकार बन्ने भएर होला, सानैदेखि लक्षण देखिन्थ्यो। स्कुल पढ्दाका दिनहरूमा पढाइमा भन्दा पनि चित्र कोर्नमा उनको मन हुने। कहीँकतै घुम्न जाँदा कलाकृतिमा चाख लाग्ने स्वभावको थियो। भगवानको मूर्ति देख्दा मनमा उत्सुकता जाग्थ्यो।
पहिले सोख पूरा गर्न मात्र गरेता पनि कलाले जिवीकोपार्जनमा पनि सहयोग हुन थालेपछि व्यावसायिकरूपमा लागेको आठ वर्ष भयो। इच्छा शक्ति भए र मेहेनत गर्न सके जस्तोसुकै व्यक्तिले पनि यसमा काम गर्न सक्ने उनको अनुभव छ। नाम जस्तै काम संयोग मात्र भए पनि उनले जीवनमा नामको पूर्ण अर्थ दिएका छन्।

‘उमेरमा कमाउनुपर्छ’ भन्ने सोचले ५ वर्षको लागि उनी विदेशिए। विदेश बसाइमा पनि उनले आफ्नो कलालाई बिर्सन दिएनन्। साथीहरूको आग्रहमा बिदाको सदुपयोग गरेर चित्र बनाउने गर्थे। कोरियाका नागरिकको इच्छा आग्रहअनुसार पनि बनाएर राम्रो मूल्यमा अतिरिक्त आम्दानी गर्ने मौकासमेत पाए उनले।
फर्किइसकेपछि सोही कामलाई नै निरन्तरता दिएका छन्। मागअनुसार गर्न सकियो भने राम्रै छ। तर कलालाई नेपालमा भन्दा बाहिरी देशमा महत्त्व दिने र राम्रो आम्दानी हुने भएकोले पनि कलाकार विदेशिएका छन्।

नेपालमा आफ्नो इच्छाले मात्रै कलाकार बन्छु भन्यो भने गाह्रो छ। व्यावसायिकरूपले गर्दा ग्राहकको माग र चाहनाअनुसार बनाउनु पर्छ। ‘आनन्द र आम्दानीको लागि गरेको छु। अरू क्षेत्रजस्तै यो क्षेत्रमा पनि प्रतिस्पर्धा छ, जति प्रतिस्पर्धा भयो त्यति नै कलाको विकास र बिस्तार हुँदै जान्छ र सुधारिन्छ,’ उनी भन्छन्, ‘मुल्यका लागि मात्रै नभएर कलालाई प्राथमिकता दिएर प्रतिस्पर्धा हुनु राम्रो हो।’
पहिले आफूले मात्र गर्दा धेरै जानेको जस्तो लाग्ने उनलाई अग्रज र विज्ञहरूका अगाडि उभिएपछि धेरै सिक्न बाँकी छ भन्ने महसुस गरायो । मूर्तिकला विषयमै स्नातकोत्तर गरेका उनले सीताराम कट्टेल ‘धुर्मुस’को सालिक बनाएर निकै चर्चा बटुले। विभिन्न कोणबाट लोकप्रियता कमाएका कलाकार, जनकल्याणको लागि काम गर्न मन पराउने र सानैदेखि हाँस्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’मा अभिनय गरेको हेर्दै आएकोले धुर्मुसको चित्र बनाउन उनलाई खासै गाह्रो भएन।
आफू पनि धुर्मुसको ‘फ्यान’ हुनुका साथै नजिकै रंगशाला बन्दै गरेकोले पनि सालिक बनाएको उनी बताउँछन्। अहिले उनले तिनै धुर्मुस–सुन्तली जोडीको मूति तयार पारेका छन्। धुर्मुस पनि निकै खुशी भएर उनको घरै पुगेर प्रशंसा गरेपछि उनको आत्मबल झनै माथि उकासिएको छ। रंगशाला निर्माण कार्यले पूर्णता पाएपछि उक्त सालिक धुर्मुस–सुन्तलीको जोडीलाई नै हस्तान्तरण गर्ने योजनामा छन् उनी।

आफ्नो घरलाई पनि विभिन्न चित्र र मूर्तिले चिटिक्क पारेका छन्। माडीको सोमेश्वरगढीमा भएको मूर्तिकला कार्यशालामा गैँडाको मूर्ति बनाएका थिए। उनले आफ्नै कल्पनामा बनाएका कति मूर्ति बिक्री भइसकेका छन्। बाउबाजेले नगरेको विल्कुलै नयाँ काममा हात हालेका उनले योगी विकासानन्द र ओसोको समेत चित्र बनाइसकेका छन्।
खासगरी उनलाई चित्र र मूर्ति बनाउन सूर्य मध्यरातबाट उत्प्रेरणा मिलेको थियो। उनीबाटै चित्र र मूर्ति बनाउन सिकेपछि अहिले उनी आफैँ स्थापित चित्रकार र मूर्तिकार बन्न सफल भएका छन्।

नयाँ कामको थालनी गर्दाताका परिवारबाट खासै सहयोग मिलेको थिएन। छोराले जागिर गरोस् र पैसा कमाओस् भन्ने चाहेका थिए बुबा–आमाले पनि। तर, छोराको चाहना भने जागिरभन्दा पनि कलाकारितामा रम्ने नै थियो। सोही अनुरूप आज उनी स्थापित कलाकार बनेका छन्।
रहरले चित्र बनाए पनि चित्रको बजार भने सहज छैन। चीन, भारतबाट आउने सस्ता ‘सेरामिक्स’को सामानले गर्दा नेपाली कलाले मूल्य नपाएको उनको बुझाइ छ। कलाले धनी भए पनि नेपालमा कलाबारे बुझ्नेको संख्या सीमित भइदिँदा कलालाई व्यावसायिकरूपमा अंगाल्न नसकेको उनी बताउँछन्।
तर, भविष्यलाई पच्छ्याउँदै उनी कलाकारितामै निखारिँदै छन्। ‘यसैलाई निरन्तरता दिइरहे कुनै दिन कलालाई नजिकबाट चिन्ने, पढ्ने र बुझ्नेको पुस्ता पनि आउलान् नि,’ उनी भन्छन्, ‘सकुन्जेल कलाकारितामै रहिरहनेछु।’ उनलाई नेपालमै सबैभन्दा ठूलो मूर्ति बनाएर देखाउने ठूलो चाहना छ।



























