नेपाल विदेशी माफियाहरुको कारण भित्रभित्रै Danger Zone को रुपमा परिणत भइसकेको छ। काठमाडौंमा विदेशी गुप्तचर एजेन्सी RAW, CIA, MSS, CSIS, ASIS, ISI, Mossad, SIS, SVR, BND का एजेन्टहरु सामान्य जनतासमक्ष पनि छ्यापछ्याप्ती भेटिने गरी देशका मुख्य सहर अनि गाउँ-गाउँमा खुलेआम डुलिरहेका छन्।
हरेक देशले आफूले चाहेको देशमा आफ्ना गोप्य प्रतिनिधि राख्न पाउने अधिकार त अन्तर्राष्ट्रिय नीति-नियममा समेत समावेश छ। तर पनि खटिएको देशमा बसेर ती गुप्तचरहरुले के कतिसम्म र कस्तो किसिमको हर्कत र गतिविधि गर्न पाउने भन्ने हद र नियमावली छन्। केही गुप्तचर संस्थाहरुले हाम्रो देशमा हद नाघेर गरेको गतिविधिले नेपालको भविष्य धरापमा परेको देखिएको छ। यस विषयमा नेपालको १९६२ मा स्थापना भएको National Investigation Department-NID (राष्ट्रिय अनुसन्धान विभाग-रा.अ.)ले चासो राखेको पाइँदैन।
माथि उल्लेखित गुप्तचर संस्थाको नामको पूरा रुप, देश अनि स्थापनाकाल यसप्रकार छन्।
- Research and Analysis Wing (RAW)–1968, India
- Central Intelligence Agency (CIA)- 1947, USA
- Ministry of State Security (MSS)- 1983, China
- Inter-Services Intelligence (ISI)-1948, Pakistan
- Secret Intelligence Service (SIS)- 1909 UK
- Foreign Intelligence Service (SVR)- 1991, Russia
- Federal Intelligence Service (BND)- 1956 Germany
- Canadian Security Intelligence Service (CSIS)-1984, Canada
- Australian Secret Intelligence Service (ASIS)-1952, Australia
- Mossad- 1949, Israel
यी दशवटा अन्तर्राष्ट्रिय कुख्यात गुप्तचर संस्थाहरु अहिले नेपालमा एकदमै सक्रिय छन्। यसमा पनि CIA, RAW, MSS, ISI को चलखल र सक्रियताले सीमा नाघेको छ। यिनीहरु विभिन्न बहानामा नेपालका केही राष्ट्रघाती राजनीतिकर्मीहरुसँग मिलेर नेपालमा आतंक मच्चाउने, नेपालको सरकार बदल्ने, नेताहरु किनबेच गर्ने-गराउने काममा समेत सक्रिय छन्। मदन भण्डारी हत्याकाण्ड, कथित माओवादी जनआन्दोलन, दरबार हत्याकाण्ड, गणतन्त्र, प्रदेश सरकार, तराई आन्दोलन, कम्युनिस्ट पार्टीको विभाजनलगायत अन्य धेरै कृयाकलापमा पनि यिनीहरुकै हात छ।
१९५९ सम्म दिल्लीबाट नेपाल हेरिरहेको अमेरिकाले सन १९५९ अगस्ट ६ तारिखका दिन काठमाडौंमा राजदुताबास खोली नेपालमा आफ्नो हैकम चलाउन शुरु गर्यो। प्रजातन्त्रपछि पहिलो आमनिर्वाचनमा कम्युनिस्टहरुले सत्ता हात पार्न सक्ने डरले नेपालमा कम्युनिस्ट विरोधी शक्ति बनाउन CIA ले नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालासँग भित्री साँठगाठ गरी प्रजातन्त्रपछिको पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसलाई ‘२० लाख डलर चुनावी खर्च’ भनी सहयोग गरेको त CIA कै विज्ञप्तिमै स्पष्ट छ।
यसो गर्नु भनेको उनीहरुले कांग्रेसलाई माया गरेको भन्दा पनि कम्युनिस्टलाई कमजोर बनाउने षड्यन्त्र रचेको थियो। यो कुराको चुहावट भएपछि चाइनाको MSS ले पनि आफ्ना प्रतिनिधि Chen Wen Jing लाई नेपाल पठायो। र, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मनमोहन अधिकारीसँग सोल्टी होटलमा भेटघाट गरायो। MSS ले पनि नेकपा (एमाले)लाई प्रतिस्पर्धामा पछाडि नहट्न ठूलै धनराशि टक्रयाएको थियो भन्ने हल्ला बाहिर आएकै थियो।
नेपालको सरकार बदल्नेदेखि देशको शान्ति खलबल्याइ स्वार्थ लुट्ने काम विदेशी गुप्तचर संस्थाहरुबाटै हुन्छ। अनि एक देशले अर्को देशलाई धम्की दिने र आफ्नो काबुमा राख्ने रणनीति बनाउने कर्मथलोको ‘बेसक्याम्प’ पनि नेपाललाई नै बनाइन्छ। अमेरिकाले चीनलाई नियन्त्रण गर्ने, भारतले पाकिस्तानलाई सिध्याउने रणनीति अनि पाकिस्तानले भारतलाई आक्रमण गर्ने योजना तर्जुमा सबै नेपालमै बसेर हुन्छ। अमेरिकी हैकमवाद अनि भारतको अतिक्रमण पोलिसीका चलखेलमार्फत नेपालमा अशान्ति मच्चाएर नेपालमा उनीहरुको बेसक्याम्प नै बसाल्ने प्रयासहरु त नेपालमा भएका अहिलेसम्मका घटना र माओवादीको कथित जनआन्दोलनबाट सबैले बुझिरहेकै कुरा हो।
एसिया र प्रशान्त क्षेत्रमा चीनको प्रभाव रोक्न र चीनलाई दबाउन अमेरिकाले निरन्तर प्रयास गरिरहेको छ। ६० वटा देश जोड्ने गरी चीनले अगाडि ल्याएको ‘बेल्ट एन्ड रोड’ अमेरिकालाई मात्र नभएर भारतलाई समेत मन परेको छैन। त्यसैले चीनसँग भूगोल जोडिएको नेपाल, चीनलाई नियन्त्रण गर्ने रणभूमी बेसक्याम्प बसाउनको लागि नै अमेरिकाले नेपालमा अमेरिकी विस्तारवादको नयाँ रुप Millennium Challenge Corporation (MCC) लागू गराउन खोजिरहेको छ। जसलाई कुनै पनि हालतमा हस्ताक्षर गरी लागू गर्नुपर्छ भन्ने नेपालका नेता भनाउँदा लेण्डुपहरु देख्दा उदेक लागेर आउँछ।
त्यस्तै न्यूक्लियर हतियार बेची आफ्नो GDP बलियो बनाइरहेको इजरायलका जासुसहरुले पनि कुन-कुन देशमा मिसाइल तथा हतियार बेच्ने भन्ने रणनीति नेपालमै बसेर गरेको पाइन्छ। अनि इश्लामिक लडाकुहरुको तालिम ISI को निर्देशनमा नेपालका सुदूरपश्चिमका जिल्ला र त्यहाँका घना जंगलमै हुने गरेका छन्। अमेरिकी विस्तारवादको नयाँ रुप Millennium Challenge Corporation (MCC) र अमेरिकी हैकमवादबाट राम्रो पाठ सिकेका रसिया, क्यानाडा र अष्ट्रेलियाले पनि नेपालमा आ-आफ्ना एजेन्टहरु विविध INGO को रुपमा नेपालमा पठाइरहेको छ।

INGOs भनेको हात्तीको देखाउने दाँत मात्र हो, हात्तीले चपाउने दाँत सधै लुकाउने गरेझैँ, INGO हरुले पनि आफ्नो स्वार्थ त सधैँ लुकाइरहेका हुन्छन्। सन १९१० पछि विश्वमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु सक्रिय हुन थाले। नेपालमा पनि उपकार, सहयोग, जनचेतना र विकासका नाममा खोलिएका गैरसरकारी संघ-संस्थाहरु धेरै छन्। तर सबैको आ-आफ्नै स्वार्थ छ। निस्वार्थरुपमा खोलिएका संघ-संस्था नेपालमा एउटा पनि छैनन्। जुन कुरा मैले आफैँ कार्यरत संस्थाहरु (नेपालदेखि जापानसम्म)बाट राम्ररी गहनका साथ भित्रैदेखि सपष्ट बुझ्ने मौका पाएको छु। गरिब देशलाई धनी देशले दिने सहयोग भनेको सहयोग होइन, नितान्त उनीहरुको स्वार्थ मात्र हो।
अनि राजनीतिक खेल र त्यो देशमा आफ्नो हैकम मच्चाउने रणनीतिमात्र हो। यो कुरा सुडान, लेबनान, इथियोपिया, हाइटी, इण्डोनेसिया, अफगानिस्तान, इराक, टर्कीलगायतका देशहरुबाट स्पस्ट बुझ्न सकिन्छ। गुप्तचर पठाउने खेल त भारतले कपाल काटने व्यवसायी, तरकारी, फलफूल तथा मिठाइ बेच्नेदेखि खाली बोतल उठाउने भैयाहरुको रुपमा नाटकीय ढंगले पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म बजार नै बसालिसकेको छ।
यी माथिका कुराहरु राजनीतिको ढाल ओढी देश बनाउँछु भन्दै जनता झुक्याएर उच्च पदमा पुगेकाहरुलाई राम्रोसँग थाहा छ। तर, उनीहरु नै विदेशीको मोटो रकममा बिकेर नेपालको अवस्था उथलपुथल पार्न र विदेशीहरुका मिशनअनुसार राष्ट्रघातमा संलग्न छन्। उनीहरुलाई देश र जनताको केही मतलब छैन। सिर्फ आफ्नो परिवारलाई पुस्तौं-पुस्तालाई पुग्ने करोडौँ डलर चाहिएको छ। र, राष्ट्रघात गरी कुम्ल्याएको पैसा स्वीस बैंकमा थुपारिरहेका छन्। नेपालमा ठूल्ठूला राजनैतिक उथलफुथल भएका बेलामा स्वीस बैंकमा नेपालीहरुको नाममा जम्मा भएका करोडौँ-अरबौँ डलर रकमले यो प्रमाणित गर्छ कि, केही राष्ट्रघाती नेताहरुले राष्ट्रघातको लागि विदेशीको डलरमा बिकेर देशको लागि गद्दार गर्दै स्वीस बैंकमा पैसा थुपारिरहेका छन्।
यसमा को-को पर्छन् भन्ने त सबैलाई ऐना हेरेजस्तै छ। अर्को एउटा उदाहरण, हालको नेपालको राजनैतिक अवस्था हेरौँ। बिनाकारण आफ्नै दुईतिहाइको सरकार भङ्ग गराइ, आफ्नै पार्टी, प्रधानमन्त्री र सरकारविरुद्ध लागेका राष्ट्रघाती लेण्डुपहरुहरुबाट बुझौँ। नाम भनिरहनु नपर्ला। किनकि राष्ट्रघातमा लागेका हरेक लेण्डुपहरुको नाम सारा नेपालीलाई मुखाकार नै छ।
विदेशीहरुले हामीलाई कसरी ठगिरहेका छन् र हाम्रो देश, राज्य, सरकारमा उतारचढाव केका लागि गरिरहेका छन् भनेर हाम्रो देशका लेण्डुपहरुलाई राम्रोसँग थाहा छ। तर तिनै लेण्डुप राजनीति लिडर भनाउँदाहरु जनता झुक्याइझुक्याइ राष्ट्रवादको खोल ओढेर भित्रभित्र राष्ट्रघात गरिरहेका छन्। देशलाई झुण्ड-झुण्ड गरी कालापानी, लिपुलेक र टनकपुर बनाइ सुम्पने फोहोरी खेल खेले झैं अब तराई नै छुट्याएर दिने खेलमा छन्।
उनीहरुलाई देश जे सुकै होस्, आफ्नो खातामा करोडौं, खर्बौं डलर जम्मा भए पुग्यो। अनि आफ्ना पुस्तौं पुस्तालाई पुग्ने धनराशि जोडि दिन पाए भयो । नेपाल सकिए पनि आफू र आफ्नो परिवारलाई पुस्तौं-पुस्तासम्म विदेशमा बसेर ऐस-आराम र चयन गर्न पुग्ने रकम पाए भयो।
एमाले, कांग्रेस, माओवादी, राप्रपा, मधेशी, जसपालगायत नेपालमा दर्ता भएका साना-ठूला सबै राजनीति पार्टीमा राष्ट्रघाती, पश्चिमा दलालहरु छन्। सोझा-साझा जनता र केही नबुझ्ने भेडे कार्यकर्ताहरुले गर्दा उनीहरुको भित्री रुप छोपिरहेकै छ। विदेशीको इसारामा कहिले जात-जातिको विषय बनाएर देशमा आतंक फैलाएका छन् त कहिले मधेश र पहाडको विषय बनाएर आतंक मच्चाएका छन्। कहिले कथित जनआन्दोलनको नाममा हजारौँ जनता मारेर देशको अस्थिरता देखाउँदै देश लुटेका लुट्यै छन्।
विखण्डनकारी गतिविधिको लागि यति सानो देशलाई राज्य-राज्यमा टुक्र्याएका छन्। देश विकासका ठूलाठूला भाषण त सबै पार्टीका महाराजहरुले दिइ नै रहेका हुन्छन्। तर गर्ने केही होइन, यी गद्दारलाई जनताले नेता मानुन्जेल देशमा केही परिवर्तन हुनेवाला छैन।
मैले नेपालका राजनीतिक पार्टीका केही नेताहरुलाई विद्यार्थी जीवनबाटै राम्ररी नियालिरहेको छु। कुनै काम-धाम र परिश्रमबिना उनीहरुमा आएको परिवर्तन र प्रगति देखेर अचम्म पर्छु। लहराले बाँधेको चप्पल, फाटेको कट्टु र फाटेको स्वीटर लगाइ काठमाडौँ छिरेका, त न कुनै जागिर, न कुनै आम्दानीको स्रोत, न त केही सीप, न केही काम नै अनि के काम गर्छौ भनेर सोध्दा उनीहरुको उत्तर हुन्छ:- राजनीति।
यस्ता राजनीतिज्ञ र तीनका आउरे-भाउरेको काठमाडौँमा महल, गाडी, परिवारको चुरिफुरी देख्दा म अचम्म पर्छु। कसरी आयो त्यत्रो सम्पति ? कहाँबाट आयो ? म जापानमा बसेर १८ वर्ष दुःख गर्दा बल्ल काठमाडौंमा एउटा घर बनाउन सक्छु भने, ती केही न केहीका लफङगाहरुलाई महल खडा गर्ने पैसा कहाँबाट आयो ? करोड पर्ने गाडी कहाँबाट कसरी आयो ? यो सबै राजनीतिको नाममा विदेशी गुप्तचर एजेण्टहरुसँगको मिलोमतो, विदेशी दलाल र माफियाहरुसँगको चलखेल, उठबस अनि नेपाली राजनीतिको खोल ओढेर देश बेचेको ‘ब्ल्याक मनी’को प्रमाण नै त हो नि। नेपालका नेता भनाउँदाहरु र विदेशी माफियाहरुको केही बार्ता प्रमाणहरु मसँग अहिले पनि सुरक्षित छ र त म सप्रमाण यो लेख्दैछु।
यस्ता लम्पटहरुले देश बनाउँछन् भनेर आशा गर्नु बेकार हो। साँच्चै नै राष्ट्रभक्त नेताहरु देशमा नभएका होइनन्। तर देशको लागि केही गर्न खोज्नेलाई ती राष्ट्रघाती दलालहरुले काम गर्नै दिँदैनन्, सधैं खुट्टा तान्ने, गिराउने र कसै गरी नसकेमा ज्यानै लिने षडयन्त्र गरि नै रहन्छन्। कुनै दूरदृष्टि भएका नेताले देश विकासको लागि केही गर्ने पहल गर्यो भने लेण्डुपहरु सबै मिलेर उसलाई गिराउन र पछार्न शुरु गर्छन्। किनकि त्यस्ता विदेशी माफियाका एजेन्टहरु नेपालमा विकास र समृद्धि आएको देख्न चाहँदैनन्। उनीहरुको मुख्य काम भनेको विदेशीको मोटो रकममा बिकेर जनता झुक्याउँदै नेपालमा अशान्ति मच्चाएर विकास हुन नदिने हो।
अमेरिका, भारतलगायत पश्चिमा देशहरुको रकममा बिकेका दुइरुपे नेपालका नेता भनाउँदा लेण्डुपहरुले कुनै न कुनै बहानामा देशमा द्वन्द्व र अशान्ति मच्चाइ ४ जात ३६ वर्णको मिलेर बसेको समुदायलाई जात-जात र राज्य-राज्यमा विभाजन गरी आफ्नो व्यक्तिगत स्वार्थ लुट्ने र देशलाई भुटान र सिक्किमजस्तो बनाइ भारतलाई सर्बाधिकार दिनु नै बर्तमान राष्ट्रघाती बादशाहहरुको मुख्य खेल र विदेशीको डलरमा बिकेर पाएको मुख्य जिम्मेवारी हो। देशलाई विदेशीकै इशारामा टुक्रा-टुक्रा पारिरहेका छन्।
भारतको एउटा प्रान्त जति पनि क्षेत्रफल नभएको यति सानो देशलाई टुक्रयाउन आवाश्यक थिएन। विकास गर्न राज्य नै चाहिने भए नेपालभन्दा ठूलो देश जापानले राज्य बिना नै देशभरी समानत विकास गर्ने थिएन होला। नेपाललाई राज्य-राज्यमा टुक्रयाउनु भनेको विकासको नाममा देशको ढुकुटीमा सीमित व्यक्तिहरुले रजाइँ गर्नु, देशको ढुकुटी रित्याउनु र जनतालाई सधैं गरिबीको रेखामुनी राखिरहेर केही सीमित मसिहाहरुले राज गरिरहने कुकृत खेलमात्र हो। कुशल राजनीतिकर्मी तथा आम नागरिक सचेत नभइ नहुने बेला आएको छ।
(लेखक अन्तर्राष्ट्रिय अपराध अनुसन्धान केन्द्रका अनुभवी कर्मचारी तथा हाल नेपाल सरकारका तर्फबाट जापानका लागि पर्यटन दुत हुन्।)
























