काठमाडौं, फागुन १४ । नेकपा उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद गर्न बालुवाटार पुगेका छन्। बिहीबार नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा छलफल गरेका गौतम आज बालुवाटार छिरेका हुन्।
खुमलटारमा एकता प्रस्ताव लिएर पुगेको भोलिपल्ट वामदेव बालुवाटार छिरेका हुन्। गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित हुँदा पनि वामदेव तटस्थ बस्दै आएका थिए।
उनले हाल नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका छन्। बिहीबार खुमलटारमा पनि उनले प्रचण्डसँग एकताका आधारबारे कुरा गरेका थिए। त्यहाँ उनले ओलीसँग मिल्न सकिने आधार र सम्भावनाबारे छलफल गरेका थिए।
प्रचण्डसँगको छलफलमा वामदेवले ओलीलाई सत्ताबाट सम्मानपूर्वक बहिर्गमनको वातावरण तयार गर्नुपर्ने मत राखेका थिए। प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि स्वागतमा विज्ञप्ति निकालेका गौतम फेरि सक्रिय भएका हुन्।
प्रचण्ड(नेपालले ओलीलाई सत्ताबाट बिदा गर्न कांग्रेस र जनता समाजवादीको साथ खोजिरहेका छन्। दुई अध्यक्षले यही बुधबार बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनिदिन प्रस्ताव समेत गरेका थिए। तर कांग्रेस र जसपा तटस्थ बस्ने भएपछि ओलीको बहिर्गमन झन् जटिल बनेको छ। यस्तो अवस्थामा वामदेव ओलीसँग वार्ताका लागि बालुवाटार छिरेका हुन्।


























