काठमाडौं, फागुन ५ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्धको अविश्वास प्रस्ताव आज पनि छलफल नहुने भएको छ।
आजका लागि बोलाइएको बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ। प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले विशेष कारण भन्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन्।
आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुने र केही विधेयकको प्रस्ताव पनि प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको थियो। यसअघि सोमबार बसेको प्रदेशसभाको बैठक आजका लागि बैठक बोलाएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड–माधव समूहका ४५ जना प्रदेशसभा सदस्यहरुले गत पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
त्यसयता प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल हुन सकेन। अविश्वासको प्रस्ताव छल्न विना कारण बैठक स्थगित गरिएको भन्दै प्रचण्ड-माधव समूले गत माघ १९ मा नारावाजीसमेत गरेका थिए।
पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएसँगै विभाजित बनेको नेकपामा प्रचण्ड-माधव खेमाको बहुमत रहेको प्रदेशसभामा मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएका छन्। प्रदेश-१ मा पनि मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।


























