सञ्जय चौधरी, चितवन, फागुन ५ । जन्म अनिवार्य प्राकृतिक नियम हो। थारु समुदायमा जन्मलाई विशेष किसिमले हेरिन्छ। चितवनका थारुहरुको कुरा गर्ने हो भने बच्चा जन्मेको ११ दिनपछि न्वारन (नाम राख्ने) चलन छ। थारु भाषामा सानो बच्चाको नाम राख्नुलाई ‘उठोनी’ भनिन्छ।
सानो बच्चाको वाल स्वभाव गुणबाट पनि नाम राख्ने पहिला चलन थियो। तर अहिले यो चलन हराई सक्यो। यदी बच्चा चकचके स्वभावको छ भने छोरा भए चयवा अथवा हरहावा, छोरी छ भने हरही नाम राखिदिने थारु समुदायमा चलन पहिले थियो। बच्चा जन्मेको बारको आधारलाई मानेर पनि बच्चाको नाम राखिदिने गर्थे। यदी छोरा शनिवारको दिनमा जन्मेको छ भने शनिचरा र छोरी छ भने शनिचरी नाम राखिदिने चलन थियो। जस्तै, महिना, साल, चाडपर्व अथवा कुनै विशेष अवसरमा बच्चाहरुको जन्म हुन्थ्यो भने छोरा, छोरीको त्यही अनुसार नाम राखिदिने चलन थियो। यदि बच्चाको जन्म फागुन महिनामा हुन्थ्यो भने छोरा भए फगुवा र छोरी भए फगुनी नाम राखिदिने गर्थे। बच्चाहरुको शरिर दुब्लो अथवा पातलो, मोटोघाटो हुन्थ्यो भने त्यही अनुसार पनि नाम राखिदिने चलन थियो।
यो समुदायमा पहिला सुढिनी (नर्स) को मद्तबाट बच्चा घरमै जन्माउने चलन थियो तर अहिले गाउँघरमा सुढिनी नभएका कारणले साथै चेतनाको विकास भएर सबैजना स्वास्थ्य चौकी अथवा अस्पतालहरुमा बच्चा जन्माउनका लागि लाने गर्छन्।
बच्चा जन्मिदा पहिला विशेष किसिमका गीतहरु गाईन्थ्यो। त्यसबेला गाईने गीतलाई सोहरी भनिन्थ्यो। जसमा सुढिनी अनि साना बच्चाहरुको बिचमा प्रश्नहरु गरिन्थ्यो। यो गीत अनुसार सुढिनीले बच्चाका बुबा, आमालाई प्रश्न गथ्र्यो। यदी छोरा जन्मियो भने मलाई के उपहार दिन्छौं? सुढिनीले दिएको प्रश्नको जवाफ फर्काउदै बच्चाका बुबा, आमाले भन्थे छोरा जन्मियो भने सुढिनीलाई दुईटै कानमा सुनको गहना लगाई दिउँला अनि छोरी जन्मियो भने सुढिनीलाई सारी र केही उपहार दिउला भन्ने भाव झल्किने गीत हुन्थ्यो।
त्यस गीतबाट के प्रमाणीत हुन्थ्यो भने चितवनका थारु समुदायमा लैङ्गीक विभेदको जरा गाडीएको छ। छोरी भन्दा छोरालाई पहिला धेरै मान्यता दिने गरिन्थ्यो।