पोखरा, माघ ३० । त्रिभुवन आर्मी क्लब पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो।
अब आर्मीले उपाधिका लागि गण्डकी प्रदेशसँग खेल्नेछ। गण्डकी एपीएफलाई हराएर यस अघि नै फाइनल प्रवेश गरिसकेको छ। शुक्रबार नै गण्डकीले एपीएफलाई २५-२१, २९-२७ र २५-१५ ले पराजित गरेको थियो। राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन्।
प्रतियोगितामा महिला र पुरुषमा समान ४/४ टोलीको सहभागिता रहेको छ। टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार पाउने छन्। यस्तै उपविजेताले ७५ हजार तथा तेस्रोले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन्। सान्त्वना पुरस्कार १५ हजार राखिएको छ।
यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन्। त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने छन्।


























