काठमाडौँ, ०३ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अमर्यादित र असभ्य व्यवहार गरेको आरोप लगाएका छन्। मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आज संसद्मा अत्यन्तै असंसदीय, अमर्यादित प्रकारको व्यवहार भयो। त्यस व्यवहारको कारण संसद् स्थगन हुने अवस्था बन्यो। दुनियाँको लोकतान्त्रिक अभ्यासमा, लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेका बखत संसद्लाई विभिन्न विषयमा सरकारका दृष्टिकोणबारे जानकारी गराउने र विभिन्न निर्णयबारे जानकारी गराउने, विभिन्न गतिविधिबारे जानकारी गराउने अभ्यास हुन्छ। प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा र प्रधानमन्त्रीले लिएको समयभन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने बालहठ लोकतन्त्रमा कहीँ पनि हुँदैन।’
नेपाली कांग्रेसले मंगलबार संसदमा देखाएको व्यवहारले आफूलाई आश्चर्यचकित बनाएको उनले बताए। ‘अड्डी मात्रै लिएन प्रधानमन्त्रीलाई बोल्न रोक्नका लागि वेलमा गएर संसद्को कामकारवाहीलाई अवरोध ग¥यो,’ उनले भने, ‘विषय केही पनि थिएन। कुनै विषयमा मतभेद पनि होइन। लोकतान्त्रिक अभ्यासमा बोल्न पर्दा पहिले प्रधानमन्त्रीले, त्यसपछि विपक्षी दलको नेताले, त्यसपछि मर्यादा क्रमका व्यक्तिले बोल्ने कुरा विश्वव्यापी प्रचलन हो। त्यो जहाँ पनि हुन्छ।’
प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाकै कार्यशैली झनै आश्चर्यचकित तुल्याएको उनले बताए। ‘उहाँ (शेरबहादुर देउवा)लाई संसदीय मर्यादा त्यति थाहा हुनुपर्ने हो,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रका विरूद्ध विभिन्न प्रकारका तत्व घोर दक्षिणदेखि घोर बामसम्म, अति वामपन्थी तत्वदेखि अति दक्षिणपन्थी तत्वसम्म, अति वामउग्रपन्थीदेखि अति दक्षिण प्रतिक्रियावादी समूह एक जुट भएको अवस्था छ। त्यसप्रति सजग हुनुपर्ने लोकतान्त्रिक शक्तिहरूका बीचमा एकता हुनुपर्ने हो त्यो नभएको मात्रै होइन, त्यसलाई बिथोल्न लोकतान्त्रिक शक्ति नै अग्रसर भएको देख्दा आश्चर्य लाग्छ।’
आफूबाहेक अरूलाई स्वीकार्न नसक्न भनेको कांग्रेसको मुख्य कमजोरी भएको उनको भनाइ छ। ‘आफू आए ठीक, नआए बेठीक छ र चल्न नदिने हो भने लोकतन्त्र चल्दैन,’ उनले भने, ‘आज जुन प्रवृत्ति देखा परिरहेको छ, त्यसले लोकतान्त्रिक अभ्यास अगाडि जान सक्दैन।’ वर्तमान सरकार अरुले ल्याइदिएको लोकतन्त्र स्वीकारेर आएको नभई लोकतान्त्रिक आन्दोलनको लामो शृङ्खलाको अग्रभागमा रहेर बलिदानीपूर्ण संघर्ष गरेर आएको उनले बताए।