चितवन १९ माघ । बागमती प्रदेशसभा सदस्य रीना गुरूङले देश विकास र निकासको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विकल्प नभएको बताएकी छन्। सोमबार राप्रपा रत्ननगर नगर कार्यसमितिको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय सदस्यसमेत रहेकी नेतृ गुरूङले कम्युनिस्ट र कांग्रेस पार्टीले देश चलाएको हेरिसकेकोले अब राप्रपाको पालो आएको बताएकी हुन्। ‘नेकपाको कुर्सी तानातानले देश भड्खालोमा गएको छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा जनताले राप्रपाको आशा गरिरहेका छन्। त्यसैले राप्रपाको विकल्प नरहेको हामीले ठानेका छौँ। जनताले पनि त्यही चाहिरहेका छन्।’ तर, राप्रपाले भोट माग्ने नाममा भ्रम छर्न नजानेको उनले बताइन्।
राजसस्था गलत थियो भनेर जति प्रचार गरे पनि पञ्चायतकालमै देशले विकासको फड्को मारेको स्मरण गर्दै नेतृ गुरूङले भनिन्, ‘त्यसपछिको शासनकालमा हजारौं नेपालीले व्यर्थैमा रगत बगाए। तर, जनताको पक्षमा सत्तामा पुगेका कुनै पनि दल देखिएन।’ कार्यक्रममा बोल्दै राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले राष्ट्रिय विभूतिलाई तिरस्कार गरेर विदेशी नेताको पूजा गर्नेहरूबाट राष्ट्रवादको अपेक्षा गर्न नसकिने बताए।

६० जना पार्टी प्रवेश
सोमबार चितवनमा ६० जना युवाहरु राप्रपामा आधिकारिकरुपमा पार्टी प्रवेश गरेका छन्। राप्रपाको रत्ननगर नगर समितिका अध्यक्ष गोविन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमबाट ६० जनाले विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गरेको राप्रपाले जनाएको छ। बागमती प्रदेश सभा सदस्य तथा राप्रपा केन्द्रीय सदस्य रीना गुरूङले उनीहरुलाई अविर र दोसल्ला लगाएर पार्टीमा स्वागत गरेकी हुन्। नयाँ सदस्यहरुबाट पार्टीको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेमा आशावादी भएको सांसद गुरूङले बताइन्।


























