जेष्ठ ५ । कोरोना भाइरसको विश्वव्यापी महामारीविरुद्धको अभियानको नेतृत्व गरिरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को महत्वपूर्ण बैठक सोमबार बस्दैछ।
सो बैठकमा विश्वका विभिन्न देशका स्वास्थ्य क्षेत्रका नेतृत्वकर्ताहरुले कोरोना भाइरस महामारी नियन्त्रणमा अन्तर्राष्ट्रिय समुदायको प्रयास सम्बन्धमा स्वतन्त्र छानबिनको माग गर्ने तयारी गरेका छन्।
विश्व स्वास्थ्य सम्बन्धी ७३ औँ वार्षिक सम्मेलन सोमबार र मंगलबार हुँदैछ। भिडियो कन्फ्रेन्स मार्फत हुने सो सम्मेलनमा डब्लुएचओको सदस्य रहेका विश्वका १९४ देशका प्रतिनिधिहरु सहभागी हुने छन्। यो पटकको सम्मेलनमा कोरोना भाइरस महामारीको विषयले प्राथमिकता पाउने छन्।
सम्मेलनमा कोरोना भाइरसको संक्रमण विश्वका ४७ लाख भन्दा बढी मानिसमा कसरी भयो र तीन लाख १५ हजार भन्दा बढीको मृत्युको कारणबारे प्रश्न उठ्ने छ।
हरेक वर्ष डब्लुएचओको कामको मुल्यांकन गर्न सदस्य राष्ट्रहरुको सम्मेलन हुने गर्छ। यस्तो सम्मेलनले आउँदो वर्षका लागि प्राथमिकता पनि निर्धारण गर्छ।
बैठकमा यो पटक डब्लुएचओ दबाबमा आउने देखिएको छ। कोरोना भाइरसको महामारी नियन्त्रणमा उसको प्रयासलाई लिएर प्रश्न उठ्ने छन्।
अमेरिकाले डब्लुएचओको भूमिकामाथि लगातार प्रश्न गर्दै आएको छ। यो पटकको बैठक अमेरिका र चीनबिचको राजनीतिक युद्धको छायामा पर्ने सम्भावना पनि छ।
अमेरिकाले चीनमाथि समयमै जानकारी नदिएको, पर्याप्त काम नगरेको तथा सूचना लुकाएको आरोप लगाउँदै आएको छ। सोही कारण विश्वभर अहिले महामारी फैलिएको अमेरिकी आरोप छ।
उसले डब्लुएचओमाथि पनि चीनको पक्ष लिएको आरोप लगाउँदै आएको छ। चीनले भने अमेरिकाले महामारी नियन्त्रणका लागि काम गर्न नसकेको र त्यसको आरोप चीनमाथि लगाएको भन्दै आएको छ।


























