काठमाडौं, माघ १२ । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको समूहलाई धूलो छापको संज्ञा दिएका छन्। सोमबार २ नम्बर प्रदेशको अगुवा कार्यकर्ता भेलालाई पेरिस डाँडामा सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्।
‘केपी ओलीको धुलो छाप पार्टीमा सदस्यहरू गए। ४५ सदस्यीय स्थायी कमिटीमा हामीसँग बहुमत छन्’, उनले भने, ‘४४३ केन्द्रीय सदस्यहरूमा उनीहरूसँग जम्मा जम्मी १ सय जना होलान्।’
सम्बोधनका क्रममा नेता नेपालले केपी ओलीलाई गतिछाडा मानिसको संज्ञा दिए। ‘केपी ओली गतिछाडा मान्छे हुन्, उनी पार्टीको नियम र निर्देशन मान्दैनन्, एकलौटी चल्न रुचाउँछन्’, उनले भने, ‘अहिले उनी जिल्ला जिल्लामा पुगेर डम्बरू बजाइरहेका छन्। हरेकलाई केन्द्रीय सदस्य बाँड्दैछन्। अब १० हजारको केन्द्रीय सदस्य बनाउने रे!’
ओली कुनै गुनासा सुन्न नचाहने मान्छे भएको भन्दै उनलाई कसैको सुझावले काम नगर्ने बताए। ओली ओम्नी र यती प्रकरणमा फसेको बताउँदै ती कुराको छानबिन र छलफल गर्न पनि तयार नभएको बताए।
उनले केपी ओलीले कुनै हालतमा चुनाव गर्न नचाहने बताए। ‘अबको तीन महिनामा ओलीले चुनाव गर्दैनन्, तीन महिनामै बालकोट फर्किने कुरा नपत्याउनु’, उनले भने, ‘उनी संकटकाल लगाएर पनि अरु वर्ष सत्तामा बस्न चाहन्छन्। उनको कुरामा विश्वास नगर्नु है, प्रचण्डजी पनि केपी ओलीको जालसाजीमा फसिसक्नु भएको छ।’


























