काठमाडौं, माघ ८ । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ। बिहीबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-० गोल अन्तरले हराउँदै एपीएफले सुखद सुरुवात गरेको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन्। यस्तै कप्तान अनिता बस्नेत, अन्जली कुमारी योन्जन र प्रिती राईले एक एक गोल थपिन्। एकतर्फी बनेको खेलको १४ औं मिनेटमा सावित्राको गोलबाट एपीएफले अग्रता बनाएको थियो।
मैदानको दायाँ भागबाट मन्जली योन्जनको पासमा सावित्राले डिबक्स भित्रबाट सहजै गोल गरिन्। खेलको २२ औं मिनेटमा एपीएफले अग्रता दोब्बर बनायो। मिडफिल्डर अन्जलीले कप्तान अनिताले उपलब्ध गराएको पासमा गोल गरेकी थिइन्।
खेलको ६२ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-० को अग्रता दिलाईन्। उनले कप्तान अनिताले मिलाएको पासलाई सिक्स यार्ड बक्सबाट गोल गरेको थिइन्। खेलको चौंथो गोल कप्तान अनिताको नाममा रह्यो। खेलको ६४ औं मिनेटमा सावित्राले डिबक्स भित्रबाट मिलाएको बललाई अनिताले वान टचमै गोल गरेकी थिइन्।
खेलको ७३ औं मिनेटमा सावित्राले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा एपीएफ ५-० ले अघि रह्यो। त्यसपछि खेलको ८९ औं मिनेटमा डेब्यु खेलाडी प्रिती राईले गोल गरेपछि एपीएफले ६-० को फराकिलो जित निकाल्यो। जितसंगै एपीएफले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ।


























