काठमाडौं, माघ ४ । विभागीय टिम एपीएफ क्लबले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।
मुलपानी क्रिकेट मैदानमा बिहीबार गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो। गण्डकीले दिएको १ सय ७ रनको लक्ष्य एपीएफले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गर्यो। एपीएफको जितमा आसिफ शेखले ७८ रनको अर्धशतकीय इनिङ्स खेले।
यस्तै सुमित महर्जनले १८ रन बनाए । शरद भेषवाकर ५ रनमा अविजित रहे। गण्डकीका चन्द्र पौडेल र विशाल पौडेलले २/२ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा अलआउट हुँदै १ सय ६ रन बनाएको थियो। गण्डकीका लागि समिर कँडेलले सर्वाधिक ३६ रन बनाए। यस्तै बिष्णु पाण्डे र दिपेश खत्रीले १५/१५ रन बनाए। दिनेश बुढामगरले १२ रन बनाए। एपीएफका लागि कमल ऐरीले ४ विकेट लिए। अविनास बोहोरा र शरद भेषवाकरले २/२ विकेट लिए।
जितसंगै समूह ‘ए’ को एपीएफले २ खेलमा ४ अंक जोडेको छ। यस अघि एपीएफले पहिलो खेलमा प्रदेश-१ लाई हराएको थियो। एपीएफ तालिकाको दोस्रो स्थानमा रहेको छ। गण्डकीको यो तेस्रो हार हो। गण्डकी ४ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ।


























