काठमाडौं, माघ ७ । प्रदेश १ सरकारविरुद्द प्रचण्ड-नेपाल पक्षको नेकपाले ल्याएको अविश्वास प्रस्तावबारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले उक्त प्रदेशका केन्द्रीय सदस्यको बैठक बोलाएका छन्।
प्रदेश १ सभा आज (बुधबार) देखि बस्दैछ। अविश्वास प्रस्तावमा आजदेखि छलफल प्रक्रिया सुरु हुँदैछ। मुख्यमन्त्री शेरधन राई र नेकपा (प्रचण्ड-नेपाल) दुवैको सरकारमा बहुमत संख्या पुग्दैन। प्रमुख प्रतिपक्ष दल काँग्रेस निर्णायक शक्ति बनेको छ। देउवा निवास बुढानीलकण्ठ मा ९ बजे बोलाइएको बैठकले अविश्वासको पक्षर विपक्षमा मतदान गर्ने निर्णय लिनेछ।
कुल ९३ सांसद रहेको प्रदेश १ मा ३८ सांसदले राईविरुद्द अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। नेकपाको दुबै समुहको गरी ६७ सांसद छन्। कांग्रेसका २१ जना सांसद छन्।
नयाँ सरकार बनाउनका लागि कांग्रेसको साथ दुवै समूहलाई आवश्यक पर्छ। प्रतिपक्ष दल अविश्वासको प्रस्तावको पक्षमा हुनुपर्ने प्रदेश १ का कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे बताउँछन्। प्रचण्ड-नेपाल पक्षको नेकपासँग सहकार्य गर्ने वा प्रधानमन्त्री केपी शर्मा ओलीपक्ष सँग सहकार्य गर्नेमा पार्टीभित्र मतैक्यता देखिएको छैन। देउवाले बोलाएको बैठकमा प्रदेश १ का १५ बढी केन्द्रीय सदस्य उपस्थित हुने बताइएको छ।


























