गोरखा, पुस २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले नेपाली जनताको विश्वास जितेर नेपालमा हिन्दू राज्य र राजसंस्थासहितको लोकतन्त्र स्थापित गरी छाड्ने बताएका छन्। आज राष्ट्रिय एकता दिवसको अवसरमा गोरखा जिल्लामा पार्टीको चुनाव चिह्न तथा झण्डा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा राजसंस्थासहितको लोकतन्त्र र हिन्दू राज्य स्थापित गरी छाड्ने बताएका हुन्।
देशमा बलियो राष्ट्रवादी, प्रजातान्त्रिक शक्ति बनाउने उद्देश्यले विभाजित राप्रपाबीच एकता भएको बताउँदै अध्यक्ष थापाले कांग्रेस र कम्युनिस्टको विकल्पको रूपमा बलियो राष्ट्रवादी पार्टीको रूपमा राप्रपा खडा हुने दाबी गरे।
कांग्रेस र कम्युनिष्ट दुवैबाट वाक्कदिक्क बनेका जनताले भोट हाल्ने पार्टी राप्रपा होस् भनेर पार्टी एकता गरेर अघि बढेको उनको भनाइ छ। तर, पार्टी एकतालगत्तै कोरोना महामारी आएकाले तत्कालै एकताको सन्देश देशव्यापी रूपमा पुर्याउन नसकेको र अहिले त्यस कार्यलाई तीव्रता दिएको अध्यक्ष थापाको भनाइ थियो।
राप्रपालाई देशको एउटा अग्रणी शक्ति बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उनले संघीयताले नेपाली जनताको एकतालाई कमजोर बनाएको दाबी गरे।


























