पुस २५ । प्रिमियर लिग लिडर लिभरपुल एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ। शुक्रबार राति भएको तेस्रो चरणको खेलमा एस्टन भिल्लालाई ४-१ ले पराजित गर्दै लिभरपुलले चौंथो चरणमा स्थान बनाएको हो। युथ टिम मैदान उतारेको एस्टनविरुद्ध लिभरपुलले सुरुवातबाटै पकड जमाएको थियो।खेलको चौंथो मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए।
तर, खेलको ४१ औं मिनेटमा एस्टनका बारीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए। दोस्रो हाफमा भने लिभरपुलले एकतर्फी खेल पस्कियो। खेलको ६० औं मिनेटमा जर्जियानो विज्ननाल्डमले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए। ६३ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ३-१ ले अघि रह्यो।
त्यसपछि खेलको ६५ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ४-१ को जित दिलाए। यू-२३ र एकेडेमीका खेलाडीले भरिएको एस्टनले पनि थप गोलको मौका पाएको थियो। तर, सदुपयोग गर्न सकेनन। फस्ट टिमका खेलाडीलाई कोरोना देखिएपछि एस्टनले युवा टिम खेलाएको थियो।
एफए कप अन्तर्गत नै अर्को खेलमा उल्भ्सले किस्टल प्यालेसलाई १-० ले हराएको छ। उल्भ्सको जितमा एडमा ट्राओरेले निर्णयक गोल गरे। एजेन्सी


























